पूर्वीय साहित्यमा संस्कृत भाषाको विशिष्टता बहुआयामिक छ । यस सन्दर्भमा संस्कृत वाङ्मय नै मानवजीवनका सर्वाङ्गीण पक्षलाई समेटेको प्राचीन भाषा हो भन्न सकिन्छ । पूर्वीय साहित्यका विशिष्ट ग्रन्थ संस्कृतभन्दा अरू भाषामा खासै अध्ययन गर्न पाइँदैन । चारै वेदको मूल भाषा संस्कृत नै हो । १८ पुराण संस्कृतमै छन् । वेदाङ्ग, स्मृति, इतिहास, नीतिशास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्रका प्राचीन ग्रन्थ र ज्ञानका मूल स्रोत संस्कृतमै छन् । संस्कृतका लाखौँ हस्तलिखित पाण्डुलिपि पश्चिमा विश्वविद्यालयका निम्ति गहन अध्ययन र अन्वेषणका विषय बन्दै छन् । हाम्रै राष्ट्रिय अभिलेखालयमा समेत एक लाखभन्दा बढी संस्कृतका पाण्डुलिपि रहे पनि तिनको मिहिन अध्ययन र अन्वेषण हुन सकेको छैन । वास्तवमा संस्कृतको अर्थ नै परिष्कृत भन्ने हुन्छ । यो आदि सभ्यतासँग सरोकार राख्छ । कुनै भाषा कति समृद्ध छ भन्नका निम्ति त्यस भाषामा ज्ञानको भण्डार कति छ भन्ने हो ? ज्ञानको विशाल आयतन र आयामले संस्कृतलाई समृद्ध भाषा बनाएको छ । अहिले विश्वभरि नै संस्कृतप्रति चासो र प्रियता बढ्न थालेको छ । पश्चिमा अनुसन्धाता त्यसप्रति आकर्षित छन् । यो परिवेशमा नेपालमा पनि संस्कृतप्रति नवीन तवरले आकर्षण बढ्न थालेको देखिएको छ । विद्यालय र उच्च शिक्षामा संस्कृतप्रति उति ज्यादा आकर्षण नभइरहेको बेला पाकापुस्ता संस्कृतप्रति आकर्षित हुन थालेका छन् ।
संस्कृत भाषालाई नेपाली भाषाको जननी पनि मानिन्छ । पछिल्लो समय संस्कृत भाषाको अध्ययनप्रति पाकापुस्ताको आकर्षणले ऊर्जा थपेको छ । राजधानीको वाल्मीकि क्याम्पसमा पाकापुस्ता संस्कृत भाषा अध्ययनमा पुग्न थालेका छन् । त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा पनि पाकापुस्ता संस्कृत पढ्न जान थालेका छन् । त्यस्ता पाकापुस्तामा पूर्वमन्त्रीदेखि पूर्वराजदूतसमेत सहभागी हुनु आफैँमा संस्कृत भाषाप्रतिको बढ्दो आकर्षण भन्न सकिन्छ । जीवन धान्न अनेक पेसा व्यवसायमा संलग्न व्यक्तिले सेवानिवृत्त समय संस्कृत अध्ययनमा आनन्द लिन थालेका छन् । औपचारिक भर्ना भएरै संस्कृत अध्ययन थाल्नु सकारात्मक पक्ष हो । भर्ना भएका कतिपयले भने पहिलेदेखिकै रहर भए पनि व्यस्त जीवनबाट मुक्ति पाएपछि बल्ल यो भाषा अध्ययन गर्ने मौका मिलेको बताएका छन् । पूर्वउद्योगमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डे वाल्मीकि क्याम्पसमा प्राक्शास्त्री कोर्स पढ्न थाल्नुभएको छ । क्यानडाका निम्ति पूर्वनेपाली राजदूत कालीप्रसाद पोखरेलले त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्ययन गरिरहनुभएको छ । वाल्मीकि कलेजमै प्राक्शास्त्री कार्यक्रमको अध्ययन सकेर उहाँ त्यहाँ पुग्नुभएको हो । बाल्यकालमा पिता र गुरुहरूले संस्कृत पढाएका कारण आफूलाई संस्कृत भाषाप्रति रुचि भएको र सोही रुचि पूरा गर्न वाल्मीकिमा भर्ना भएको पाण्डेको भनाइ लोभलाग्दो छ । प्राक्शास्त्री कार्यक्रममा ९० प्रतिशत अङ्क ल्याएर उत्तीर्ण भएका पोखरेल ऋषिमुनिले हजारौँ वर्ष लगाएर अध्ययन गरेको भाषा भएका कारण संस्कृतको पढाइमा रुचि जागेको बताउनुहुन्छ । यी प्रयास संस्कृतलाई पुनर्जागरण गर्ने शुभ सङ्केत हो ।
संस्कृत भाषा ज्ञान र दर्शनको मूल स्रोत हो । हजारौँ ऋषिमुनिले लामो तपस्या र अभ्यास गरी विकसित गरेको संस्कृत भाषा प्रविधिमैत्रीसमेत भएको पश्चिमा अध्येताको पनि भनाइ छ । नयाँ पुस्तालाई संस्कृत भाषाको ज्ञान आवश्यक पनि छ । स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अध्ययन गरिरहेका पोखरेलले हाल सामाजिक सञ्जाल तथा युट्युब च्यानलबाट गीता, रुद्री, चण्डी सिकाउँदै आउनुभएको विषयले झनै खुसी दिन्छ । पूर्वीय ज्ञान र अभ्यासका साथै धर्म, कर्म र अध्यात्मको ज्ञान वेदबाट सुरु हुन्छ । ज्योतिष र गणितको ज्ञानको आधार पनि संस्कृत मानिन्छ । पाइथागोरसको साध्य भनिएको ज्यामितिको सिद्धान्त गणित र आधुनिक प्रविधिको आधार हो । त्यो ज्ञानको आधार हजारौँ वषअघि विकसित भएको मानिन्छ । राजनीतिशास्त्रमा कौटिल्यको अर्थशास्त्रका सिद्धान्तदेखि हितोपदेश–पञ्चतन्त्रका नीतिकथाका माध्यम पनि संस्कृत नै हुन् । संस्कृत ज्ञान शरीर, मन र आत्माको संयोजनमा मात्र सम्भव मानिन्छ ।
हामीकहाँ नयाँ पुस्ताको संस्कृतप्रति राम्रो आकर्षण नभए पनि बेलायतको सेन्टजेम्स विद्यालयमा धेरैअघिदेखि संस्कृत अनिवार्य छ । भनिन्छ, संस्कृतको शुद्ध उच्चारण गर्ने अभ्यास गरेकालाई जुनसुकै भाषाको पनि उच्चारण गर्न सजिलो हुन्छ । नेपालले संस्कृत भाषालाई व्यापक बनाउन सके विश्वका धेरै अध्येतालाई उच्च शिक्षामा पनि आकर्षण गर्न सक्ने देखिन्छ ।