• २२ भदौ २०८२, आइतबार

सहिद स्मृति पार्क संरक्षणविहीन

blog

सिन्धुलीको मरिण गाउँपालिका–७ स्थित गौचरनमा परिणत सहिद स्मृति पार्क । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देबकोटा 

सिन्धुलीमाढी, भदौ २२ गते । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएका ‘शहिद स्मृति पार्क’ संरक्षणविहीन बन्दै गएकाे छ ।

जनआन्दोलन, माओवादी ‘जनयुद्ध’ र पञ्चायतविरुद्धको आन्दोलनमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट मरिएर राज्यले सहिद घोषणा गरेका व्यक्तिको सम्मानमा निर्माण गरिएका सहिद स्मृति पार्क संरक्षणको अभावमा गौचरनमा परिणत हुन थालेको हो । निर्माण गरिएका उक्त पार्कमा नेपाल सरकारले शहिद घोषणा गरी गृह मन्त्रालयमा सूचिकृत व्यक्तिहरुको अर्धकदको शालिक राखिएको स्थानीयले बताएका छन् ।

बागमती प्रदेश सरकारको लाखौँ रुपियाँ सहयोगमा गत आर्थिक वर्ष ०८१-०८२ मा निर्माण गरिएका सहिद स्मृति पार्क एक वर्ष पनि बित्न नपाउँदै उचित घेराबेरा र व्यवस्थित नहुँदा संरक्षणविहीन बन्दै गएका छन् । जिल्लाका विभिन्न ठाँउमा हाल निर्माण भइरहेका सहिद स्मृति पार्कहरु अलपत्र र बेवारिसे बन्दै जाँदा राज्यको लगानी अनावश्यक ठाउँमा भएको आशङ्का जिल्लावामा पैदा हुँदै गएको पाइन्छ ।

बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०८१-०८२ मा २५ लाख रुपियाँ खर्चेर मरिण गाउँपालिका–७ मा निर्माण गरेको सहिद स्मृति पार्क यतिखेर स्थानीय किसानका लागि गौचरन बनेको छ । उक्त पार्क खुल्ला चौरमा निर्माण गरिएको र त्यहाँ राखिएका करिब डेढ दर्जन सहिदको शालिक सुरक्षाका लागि पूर्णरुपमा कम्पाउण्ड वाल तथा घेराबेरा निर्माण नभएको स्थानीय जितबहादुर तामाङ् बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘शालिक राखिएको ठाउँमा झारै झार उम्रेको छ । त्यहीँबाट मोटरबाटो गएको छ । सुरक्षा केही छैन, अव्यवस्थित छ ।’

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान पनि उक्त पार्क घेराबेरा नहुँदा गौचरन बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पार्कलाई संरक्षण गर्नका लागि गत वर्ष पालिकाले ४० लाख रुपियाँमा कम्पाउण्ड वाल लगाउन सुरु गरेको छ । त्यो सकिएको छैन । क्रमशः काम गर्दै व्यवस्थित गर्ने योजना छ ।’ सोही ठाँउमा रहेको शहिद शेरमान कुँवर स्मृति प्रतिष्ठानको भवन पनि बेवारिसे अवस्थामा रहेको स्थानीय बताउँछन् ।

सुनकोशी गाउँपालिका–५ देउकी डाँडास्थित सहिद स्मृति पार्कको अवस्था पनि मरिणको जस्तै छ । त्यही पनि डेढ दर्जन जति सहिदको अर्धकदको शालिक राखेर पार्क निर्माण गरिएको भए पनि पार्क संरक्षणका लागि अन्य पूर्वाधार नबनेको वडा अध्यक्ष सुरथकुमार बसेलको गुनासो छ । उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको १८ लाख रुपियाँ सहयोगमा १७ जना सहिदको मूर्ति राख्ने काम भयो, अरु काम केही भएको छैन ।’

पार्क घेराबेराका लागि गाउँपालिकाले यो वर्षका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा कमलामाई नगरपालिका–४ स्थित ठूलीचौरी, तीनपाटन गाउँपालिका–४ मझुवादोभान, गोलन्जोर गाउँपालिका–६ देउरालीटार, घ्याङ्लेख गाउँपालिका–१ सिम्लेखोला, दुधौली नगरपालिका–१० स्थित लभडाँडामा सहिद स्मृति पार्क निर्माण सुरु गरिएको छ ।

कमलमाई नगरपालिका–४ ठूलीचौरीमा गत आर्थिक वर्षबाट निर्माण सुरु गरिएको शहिद स्मृति पार्क बजेट अभावमा बीचमा नै अलपत्र परेको स्थानीय बासिन्दा बताउँछन् । उक्त स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रेशमबहादुर पोख्रेल गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेकोले निर्माण सुरु गरेको र यो वर्षका लागि कतैबाट बजेट विनियोजन नभएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, ‘उक्त बजेटबाट डिपिआर बनाउने, चौरी सम्याउने, शालिक राख्ने ठाउँ निर्माण, प्रतीक्षालय, नाला निर्माणलगायतका संरचना बनाउने काम भएको छ ।’

बागमती प्रदेश सांसद तथा पूर्व मन्त्री गङ्गानारायण श्रेष्ठ सहिद स्मृति पार्क गत वर्षदेखि निर्माण सुरु भएको र बाँकी अधुरा काम बजेट विनियोजन गरी क्रमशः पूरा गर्दै जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपयले यी माओवादीले जनयुद्धमा मारेकाहरुलाई मात्र गर्ने भन्ने पूर्वाग्रह ढङ्गले हेरेको देख्छु । त्यो खालको होइन । शहादत प्राप्त गरेका, नेपाल सरकारले सहिदको सूचीमा सूचीकरण गरेका सहिदहरुको सम्मानमा स्मृति पार्क बनाएको हो ।’