• २२ भदौ २०८२, आइतबार

बैतडीमा झाँकीसहित २२औँ निजामती सेवा दिवस सम्पन्न

blog

निजामती सेवा दिवस बैतडीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 

वासुलिङ (बैतडी), भदौ २२ गते । २२ औँ निजामती सेवा दिवस बैतडीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । दिवसको पूर्वसन्ध्यामा सदरमुकाम गेठालापानी क्षेत्रमा सरसफाइ, खुला ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो । 

मुख्य दिन आज स्थानीय सांस्कृतिक झाँकीसहित चिण्डो फोड, कुर्सी दौड लगायतका खेलकुद र मनोरञ्जनात्मक प्रतियोगिताले उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो ।

जिल्ला सदरमुकामबाट र्‍यालीसहित गढीस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा निजामती कर्मचारी, अन्य सेवा प्रदायक निकायका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व तथा स्थानीयको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा खुला ब्याडमिन्टन प्रतियोगिताका विजेता टोली, उत्कृष्ट कार्यालय तथा दिवसका अवसरमा योगदान गर्ने सहयोगीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निजामती कर्मचारीले जनतालाई महसुस हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असल काम र सकारात्मक व्यवहारमार्फत जनताको विश्वास बढ्ने भएकाले निजामती कर्मचारीहरु सबै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसै अवसरमा जिल्लाका सरकारी कार्यालयमध्ये नापी कार्यालय बैतडीलाई उत्कृष्ट कार्यालयको घोषणा गरिएको छ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक वि.सं. २०१२ भदौ २२ गते जारी भएको स्मरण गर्दै वि.सं. २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने प्रचलन छ ।