गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ’ लोकार्पण गर्नुभएको छ । रवीन्द्र शाह स्मृति प्रतिष्ठानले अभिनन्दन ग्रन्थ प्रकाशन गरेको हो । प्रतिष्ठानले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले पत्रकार नेपालीलाई आफूले एक कट्टर लोकतन्त्रवादी र राष्ट्रवादी स्वतन्त्र सेनानीको रूपमा चिनेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालीले निरङ्कुशताबाट जनताको उन्मुक्तिका लागि जेलनेलको वास्ता नगरी एउटा कवि र कलमजीवीका रूपमा भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि क्रियाशील व्यक्तिका रूपमा पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्यमान्यता एवं आदर्शका लागि प्रेस र प्रजातन्त्र सेनानीका रूपमा आफूलाई उम्याउन कहीँकतै चुक्नुभएन । उहाँ निर्भीक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति हुनुहुन्थ्यो ।”
करिब एक हजार तीन सय पृष्ठको अभिनन्दन ग्रन्थमा स्वतन्त्रता सेनानी नेपालीबारे नेपाल तथा भारतका राजनीतिज्ञ, पत्रकार, साहित्यकारलगायतका धारणा, उहाँले लेख्नुभएका समाचारलगायतका सङ्ग्रह समेटिएका छन् । धनुषाको जनकपुरधामका नेपालीले २०१८ सालमा पत्रकारिता सुरु गर्नुभएको हो । त्यसपछिको समय उहाँ स्वतन्त्रता आन्दोलनमा पनि होमिनुभएको थियो । क्यान्सरले थला परेर २०८० भदौ ११ गते निधन हुनुभन्दा केही महिनाअघिसम्म उहाँ पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभयो । आधुनिक समयको शासनप्रणालीको उच्चतम रूप मात्र नभई आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण र जीवनशैलीका रूपमा आत्मसात् गर्दै लोकतन्त्रलाई देश बनाउने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सभा सदस्य जितेन्द सोनलले स्वतन्त्रता सेनानी नेपालीको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष राघवेन्द्र साहले गर्नुभएको थियो ।