• १८ भदौ २०८२, बुधबार

९६ हजारभन्दा बढी गाई–भैँसीलाई लम्पीस्किनविरुद्धको खोप

blog

बागमती प्रदेश सरकारले लम्पीस्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको खोप अभियानमा सहभागीहरू ।

स्मिता अर्जेल

मकवानपुरगढी, भदौ १८ गते । बागमती प्रदेश सरकारले लम्पीस्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ९६ हजार तीनसय ४७ गाई–भैँसीलाई खोप लगाइएको छ ।

पछिल्लो समय चितवनमा रोग तिव्र रूपमा फैलिन थालेपछि अभियानलाई थप प्रभावकारी बनाइएको हो । गत भदौ १ गतेदेखि ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाट खोप कार्यक्रमको सुरुवात गरिएको थियो । क्रमशः प्रदेशको सबै १३ जिल्लामा विस्तार गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले जानकारी दिनुभयो ।

लम्पीस्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ गाई तथा भैँसीलाई खोप लगाइएको छ । त्यसैगरी, रामेछापमा ४ हजार ४ सय ३७, काठमाडौँमा ४ हजार तीन सय ५०, ललितपुरमा तीन हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाई भैँसीमा खोप लगाइएको छ ।  

यस्तै, नुवाकोटमा ७ हजार ७ सय २४, रसुवामा ३ हजार ६ सय ३४, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको छ ।

यसअघि प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । यसवर्ष मात्र साउनदेखि भदौसम्मको अवधिमा लम्पीस्किनका कारण ७४ पशुको ज्यान गइसकेको छ । १ हजार ६३३ पशु यो रोगले प्रभावित भएका छन् ।

बागमतीको ११० स्थानीय तहमा ६ लाख ९४ हजार २१७ गाई र ५ लाख ४९ हजार १८२  भैँसी रहेको मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।