• १८ भदौ २०८२, बुधबार

उत्तरी गोरखाको ल्होमा दुई घर जलेर नष्ट

blog

चुमनुब्री गाउँपालिका-२ ल्होको सिया गाउँमा लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको आगाे लागेकाे घर ।

गुणबहादुर रोका 

सुलीकोट, भदौ १८ गते । उत्तरी गोरखाको ल्होमा दुई घर जलेर नष्ट भएकाे छ । जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानीय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बुधबार बिहान ३ बजेको समयमा घरमा पूजा गर्दा बालेको बत्तीबाट आगो सल्किएर दुई घरमा आगो लागेको हुनसक्छ । आगलागीबाट दुईवटै घरभित्र रहेका लत्ता कपडा, गरगहना र अन्नपात पूर्णरुपमा नष्ट भएको ल्हो–२ का वडा अध्यक्ष मिङमार दोर्जे लामाले बताउनुभयो ।

"दुई घरमा आगोले जलेर नष्ट भएकाे छ," प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, “घरभित्रको सबै सामन, लत्ताकपडा, टेबुल दराज, भाँडाकुँडा सामान जलेर पूर्ण रुपमा क्षति भएको छ ।” 

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट मानवीय क्षति नभएको बताइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।