विकास अधिकारी
पश्चिम नवलपरासी, भदौ १८ गते । भारतीय केरा रोक्न माग गर्दे पश्चिम नवलपरासीका केरा खेती गर्ने किसानहरूले आज स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । भारतबाट आयातित केराका कारण नेपाली उत्पादनले बजार नपाएको भन्दै किसानहरूले भारतीय केराको आयात राकेर नेपाली उत्पादनको बजारीकरण गर्न माग गरेका छन् ।
अहिले बिक्रीका लागि तयार भएको केरा बोटमै पाकेर नष्ट हुन थालेपछी किसानहरू उत्पादन लागत पनि नउठ्ने चिन्तामा परेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो । आज प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै किसानहरूले तत्कालै स्थानीय उत्पादनको खपत हुन नसके सबै केरा नष्ट हुने तर्फ ध्यानाकर्षण गराएका छन् ।
गत वर्ष ४५ रुपियाँ प्रतिदर्जन सम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपियाँमा पनि बिक्री नभएपछि जमिन भाडामा लिएर खेती गर्दे आएका अधिकांश किसान चिन्तित बनेका छन् । नवलपरासीको प्रतापपुर र सुस्ता केरा पकेट क्षेत्र हो ।
सो क्षेत्रमा झन्डै १८ सय बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । असारदेखि ६ महिना सम्म आन्तरिक उत्पादनले नेपालको माग धान्ने भएकाले भारतीय केराको आयात तत्काल रोक्नु केरा उत्पादक सङ्घले माग गरेको छ । केही दिन भित्र केरा बिक्री नभए खेतमा नष्ट हुने जोखिम रहेको भन्दै किसानहरूले तिन तहका सरकारले बजारीकरणको व्यवस्था गर्न माग गरेका छन् ।