डा. ज्ञानू पाण्डे
दर्जनौँ पुस्तकका लेखक आदरणीय डा. तारानाथ गुरुको जीवनकाल (१९९१–२०७८) मा प्रकाशित सिर्जनात्मक पुस्तकमध्ये अन्तिम पुस्तकको नाम हो ‘चरी भरर’ । त्यस दिन यो पुस्तक उपहार स्वरूप मेरो हातमा थमाउनुअघि शान्ता शर्माले यसको रचनागर्भबारे सविस्तारमा बताउँदै लेखकीय पृष्ठमा रहेको मुटुमा सञ्चित मायाको कोसेली शीर्षक पाठ ‘आफैँ पढेर सुनाउँछु’ भन्दै पाना त पल्टाइन् तर सात आठ हरफभन्दा अगाडि बढ्न सकिनन् उनी । पढ्दापढ्दै बीचैमा अनायासै भावविह्वल हुन पुगिन् । गला अवरुद्ध भयो, आँसुले पूरै भिज्यो आँखा, भक्कानो फुट्यो उनको । त्यो परिस्थितिले मलाई पनि स्तब्ध पारिदियो । एकछिनभरि म केही बोल्न सकिनँ, केही सोध्न सकिनँ । मात्र मौन भएर पढिरहेँ उनको त्यो विदीर्ण अनुहार र भिजेका आँखाहरू, जहाँ साहित्यकार पतिप्रतिको उनको अथाह प्रेम र श्रद्धाभाव छचल्किरहेको थियो । सँगसँगै पतिको भौतिक अवसानले शून्य बन्न पुगेको उनको एक्लो जीवनको अत्यास र उच्चाट पनि उस्तैसित त्यहा“ प्रतिध्वनित भइरहेको प्रतीत हुन्थ्यो ।
दिवङ्गत गुरुप्रति श्रद्धाञ्जलि अर्पण गर्ने आशयमा केन्द्रित यस लेखमा सुरुमै यसरी शान्ता शर्माको कुरा उप्काउन चासो गरेँ । लाग्यो, उनीसित जीवनभर छायाजस्तै गरेर नजिक रहेकी उनकी धर्मपत्नीको मनको दुःखप्रति थोरै संवेदनशीलता जाहेर गर्नु पक्कै पनि असान्दर्भिक ठहर्ने छैन । यसो गर्नुले बरु उल्टै, तारानाथ गुरुको आत्मालाई विशेष शान्ति पुग्नेछ भन्ने मैले ठानेँ ।
तारानाथ गुरु अर्थात् डा. तारानाथ शर्मा उर्फ ताना शर्मा (एक समयका ताना सर्मा पनि) नेपाली साहित्यका एक अति विशिष्ट प्राप्ति हुन् । अङ्ग्रेजी विषयका प्राध्यापक, अङ्ग्रेजी र नेपाली दुवै भाषा साहित्यका गहन ज्ञाता यी गुरुले नेपाली भाषासाहित्यको क्षेत्रमा पु¥याएको योगदान व्यापक एवं विस्तृत आकारको छ । २००८ सालमा साथी (साप्ताहिक, दार्जिलिङ) नामको पत्रिकामा ‘इलाम’ शीर्षकको निबन्ध छपाएर पहिलोचोटि आफ्नो सिर्जनात्मक अवतार सार्वजनिक गर्ने यी स्रष्टाको कलमबाट विभिन्न विधामा एकसेएक महìवका कृतिहरू पाएर मुलुकको साहित्यिक जगत् साँच्चै नै धन्य बनेको छ । कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचना, भाषाव्याकरण, अनुवाद, सम्पादनका साथसाथै पाठ्यपुस्तक लेखनका क्षेत्रमा पनि उनको सक्रियता उल्लेख्य रहेको हो । त्यसैगरी नेपाली साहित्यको इतिहास लेखन परम्परामा पनि उनको योगदान अविष्मरणीय रहेको छ ।
तीक्ष्ण प्रतिभाका धनी तारानाथ गुरुको साहित्यिक व्यक्तित्वका यी विभिन्न आयाममध्ये निबन्धकार र समालोचक व्यक्तित्व अग्रणी स्थानमा रहेको पाइन्छ । कृति गणनाका दृष्टिले पनि र गुणात्मकताका दृष्टिले पनि यी दुवै विधामा उनको उपस्थिति अत्यन्त सशक्त एवं हराभरा रहेको छ । नेपाली साहित्यमा उनको नाम प्रभावशाली निबन्धकार तथा खरो समालोचक भन्ने विशेषताले प्रख्यात छ ।
नेपाली नियात्रा साहित्यका प्रथम हस्ताक्षर तारानाथ गुरुका नमस्ते, बेलाइततिर बरालिँदा (मदन पुरस्कार प्राप्त कृति), नमस्ते, जमर्काहरू, जीवनका छाल, श्रद्धाका सुमन, पाताल प्रवास, आँसु छचल्किँदै जान्छ (सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त कृति), नसुनिएका ध्वनि, चरी भररलगायतका पुस्तकहरू नेपाली निबन्ध तथा नियात्रा साहित्यका अमूल्य निधि हुन् । त्यसैगरी उनका घोत्ल्याइँहरू, पश्चिमका केही महान् साहित्यकार, सम र समका कृति (साझा पुरस्कार प्राप्त कृति), भानुभक्तदेखि तेस्रो आयामसम्म, घोत्ल्याँइहरू, सुम्पन ल्याएँ नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचयलगायतका पुस्तकहरू नेपाली समालोचना क्षेत्रका मानक ग्रन्थ हुन् ।
वास्तवमा एउटै स्रष्टाका कलमबाट यतिका सङ्ख्यामा मानक कृतिहरू सिर्जना हुनसक्नु भनेको चानचुने कुरा पक्कै पनि होइन । यस्ता होनहार प्रतिभाका धनी स्रष्टा जो उमेरले मेरा पिताजीका समवयी थिए, उनीसित भौतिक साक्षात्कारको अवसर निकै पछि मात्र प्राप्त भएको हो मलाई । सुरुमा तारानाथ गुरुसित मेरो परिचय कृतिगत रूपमा भएको हो । बुबा साहित्यकार हुनुभएको हुनाले घरमा साहित्यिक किताबहरू भइरहनु स्वाभाविकै थियो । त्यस परिप्रेक्ष्यले गर्दा स्कुले विद्यार्थी छँदा नै मैले उनका किताबहरू देख्ने मौका पाएँ, उनको नामसित परिचित हुन पाएँ । कलेज पढ्न थालेपछि त झन् कुरै भएन । नेपाली साहित्यको विद्यार्थी म, वास्तवमा उनैले लेखेको ‘नेपाली साहित्यको इतिहास’ पढेर नेपाली साहित्यको इतिहासको ‘कपुरी क’ ठम्याएकी हुँ मैले । पछि जब आफैँ क्याम्पसमा पढाउने भइयो त्यसपछि त उनका पुस्तकहरूका साथसाथै उनका परिचयका बारेमा खोजी खोजी जान्नुपर्ने अनिवार्यता नै भयो मलाई ।
नेपाली भाषा शुद्ध लेखिनुपर्छ यसलाई अन्य भाषाको प्रभावबाट मुक्त राख्नुपर्छ, यसको मौलिकतालाई कुनै हालतमा पनि मासिन दिनुहुन्न भन्ने आग्रहका साथ नेपाली साहित्यमा उतिबेला उठाइएको झर्राेवादी आन्दोलनका एक मुख्य अभियन्ता हुन् तारानाथ गुरु । उनका लेखन तथा अभिव्यक्तिहरू सर्वत्र यो आन्दोलनको आग्रहको छाप स्पस्टसित महसुस गर्न सकिन्छ । सिर्जनात्मक कृतिहरूमा मात्र होइन, उनका समालोचनात्मक लेखनहरूमा पनि प्रशस्त मात्रामा नेपाली झर्रा शब्दहरू प्रयोग भएको हामी पढ्न पाउँछौँ । ‘मेरो समालोचना फटाहरूलाई लाटो पारुन्जेल पोल्ने सिस्नु हो’ भन्ने यी गुरुको नाम नेपाली साहित्य समाजमा निर्भीक, निडर, हक्की, खरो, झर्राे स्वभावका लेखकको पहिचानमा प्रख्यात छ । “छातीमा मुड्की बजारेर सत्यको पक्षमा निर्धक्क बोल्ने मेरो प्रवृत्तिले गर्दा आलोचनामा म बढी परिचित भएको हुँ” भन्ने उनको आत्मस्वीकृतिमा लेखकीय निडर स्वभाप्रतिको उनको गर्वभाव प्रकटिएको अनुभव गर्न सकिन्छ । तारानाथ गुरुको कलमको निडर स्वभावबारे चर्चा गर्दा समको ‘चिसो चुल्हो’ महाकाव्यलाई ‘पच्न नसकेको अनुभवको झुसिलो डकार’ भनेर आलोचना गरको सन्दर्भ र तत्कालीन राजा महेन्द्रको ‘उसैको लागि’ गीतसङ्ग्रहको कमजोरीहरू औँल्याएर आलोचनात्मक लेख लेखेको सन्दर्भ धेरैले सम्झने गरेको पाइन्छ । हुन पनि पञ्चायती निरङ्कुशताको त्यो समयमा शासकले लेखेको कृतिको कटु आलोचना गरेर लेख लेख्न आँट गर्नु पक्कै पनि कम ठूलो निडरताको कुरा होइन । त्यही काण्डले गर्दा उतिबेला उनी तीन महिना थुनामा समेत परे अरे । तर रमाइलो कुरा के भने, त्यो बेला जेलमै बस्दा पनि उनको कलम रोकिएन । कडा आलोचक भएका कारण जेल परेका उनी त्यो बेला जेलबाट निस्कदा उपन्यासकार (पनि) बनेर निस्किए । उनका चारवटा प्रकाशित उपन्यासमध्ये सुरुका ‘ओझेल पर्दा’ र ‘मेरो कथा’ दुई उपन्यास त्यही बेला लेखिएको होे भन्ने कुरा उनका अन्तर्वार्ताहरूमा उल्लेख भएकोे पढ्न पाइन्छ । लेख्ने कलामा मात्र होइन बोल्ने कलामा पनि उनी उस्तै उद्भट थिए । तर्कले सुनलाई पित्तल, पित्तललाई सुन सावित गरिदिन सक्ने उनको बौद्धिक खुबीबारे धेरै ठाउँमा लेखिएको पढ्न पाइन्छ । उनको यो विशेषतालाई लिएर कतिपयले मुक्तकण्ठले प्रशंसा गरेको सुनिन्छ भने कतिपयले चाहिँ उनको निन्दा गरेको पनि भेटिन्छ । निन्दाका क्रममा उनका बारेमा ‘सैद्धान्तिक स्थिरता नभएको मान्छे’ ‘झोकी मान्छे’, ‘अप्ठ्यारो स्वभावको मान्छे’ ‘ठाडो स्वभावको मान्छे’ ‘कडा स्वभावको मान्छे’ लगायतका धारणाहरू पनि व्यक्त भएका पढ्न–सुन्न नपाइने होइन ।
खैर यी त भए तारानाथ शर्माले लेखेका पुस्तकहरू तथा उनका अन्तर्वार्ताहरू अध्ययन गरेर, उनबारे अरू लेखक स्रष्टाहरूले लेखेका सामग्रीहरू पढेर, उनका बारेमा विभिन्न व्यक्तित्वहरूले विभिन्न सन्दर्भमा बोलेका कुराहरू सुनेर र गुनेर ठम्याएको उनको सार्वजनिक पहिचानको पाटो । योबाहेक अर्को पाटो पनि छ उनको । त्यो पाटो हो पारिवारिक– व्यावहारिक पाटो अर्थात् उनको व्यक्तिगत जीवनको पाटो ।
मलाई लाग्छ, कुनै पनि व्यक्तिको व्यक्तित्वको पूरा पहिचान परख्न उसको सार्वजनिक पहिचानका पाटाहरू मात्र नियाल्नुले पर्याप्त हुन्न, उसको पारिवारिक–व्यावहारिक पाटोलाई पनि चियाउनु आवश्यक हुन्छ । यो पाटो उसको जीवन भोगाइको अनौपचारिक पाटो हो– अकृत्रिम पाटो हो, जहाँ उसका भित्री अनुहारका रेखाहरू, स्वभाव र रुचिका रङ्गहरू, बानी–बेहोराका ढङ्गहरू, विचार र बुझाइका वास्तविक स्वरूपहरू, अनि इच्छा, आकाङ्क्षा, कुण्ठा तथा मनोवेगहरू दुरुस्त उधारिएको हुन्छ ।
यथार्थमा तारानाथ गुरु कस्तो स्वभावका व्यक्ति थिए होलान् ? उनको पारिवारिक–व्यावहारिक जीवन कस्तो थियो होला ? बाहिर उनी जसरी कडा स्वभावका मान्छे भनेर चिनिन्थे, चिनाइन्थे, के घरभित्र पनि उनको बेहोरा त्यस्तै हुन्थ्यो होला त ? साहित्य लेखन–पठनका अतिरिक्त अरू केके विषयमा उनको सोख थियो होला ? विचार र व्यवहारमा उनी कत्तिको समानता राख्थे होलान् ? सुरुमै महिलाले मात्र पढ्ने कलेज (पद्मकन्या कलेज) मा प्राध्यापन गरेर जागिर आरम्भ गरेका यी गुरु साहित्यका हाम्रा अग्रज दिदीहरूलाई भेट्दा सधैँ ‘अझै राम्रो लेख्नू, सधैँ लेखिरहनू’ भनेर हौस्याउँथे अरे भन्ने सुनिएको हो, घरमा उनी पत्नीलाई पनि ‘केही लेख’, ‘केही खास गर’ भनेर प्रेरित गर्थे होलान् कि नाई ? ८७ वर्षभरिको आयु बा“चेर बितेका यी गुरुका जीवनका पछिल्ला समयहरू के कसरी बिते होलान् ? जीवनको सन्ध्याकालमा उनी केकस्ता अनुभूतिहरूबाट गुज्रिएका थिए होलान् ? तारानाथ गुरुबारे केही लेख्छु भन्ने लागेपछि उनको व्यक्तित्वको सार्वजनिक पक्षहरूका साथसाथै व्यक्तिगत जीवनसित जोडिएका यी आदि प्रश्नहरू पनि मेरो मनमा जुरुमुराएर उठेका हुन् । वास्तवमा यिनै प्रश्नहरूले नै डो¥याएर त्यस दिन मलाई तारानाथ गुरुको घर पु¥याएका हुन्, उनकी पत्नी शान्ता शर्मासित भेट्न, उनका कुराहरू सुन्न ।
मलाई लाग्यो, तारानाथ गुरुलाई उनले भन्दा नजिकबाट अरू कसले पो चिनेको होला र ? तारानाथ शर्मा तारानाथ शर्मा बन्नुमा उनको प्राज्ञिक–बौद्धिक क्षमताको साथ आफ्नो ठाउँमा मुख्य हो– महìवपूर्ण हो । यस कुरामा कुनै सन्देह छैन । तर उनको त्यो क्षमताले जीवनभर निर्बाध रूपमा गति समाइरहन सक्नुका पछाडि पक्कै पनि शान्ता शर्माको समर्पणपूर्ण साथको पनि केही न केही भूमिका रह्यो होला भन्ने मेरो अनुमान त्यस दिन उनका कुराहरू सुनेपछि सा“च्चै नै सत्य सावित भयो ।
अठार वर्षको उमेर पनि पार नगर्दै बाबुआमाका रोजाइमा ३४ वर्षका तारानाथ गुरुसित वैवाहिक सम्बन्धमा गाँसिएकी उनी आधा शताब्दीभन्दा लामो समय गुरुको छायाजस्तै बनेर नजिक रहिन् । गुरुको व्यक्तित्वको औपचारिक र अनौपचारिक दुवै पाटोको उनी द्रष्टा मात्र होइनन्, भोक्ता पनि हुन् । जीवनका सारा उर्वर उमेरहरू उनले तारानाथ गुरुकै सेवा र स्याहारमा समर्पित भएर बिताइन्, त्यो क्रमलाई गुरुको जीवनको अन्तिम घडीसम्म उनले कतै टुटाइनन्– अनिर्वच्छिन्न रूपमा निरन्तरता दिइरहिन् । यस क्रममा गुरुको उच्च प्राज्ञिक व्यक्तित्वले आर्जित गरेको यावत् सफलता र सुविधाहरूमा पूर्ण अधिकारका साथ रमाएकी उनी, उनको जीवनमा आइपरेका यावत् सङ्कट, सास्ती र झमेलाहरूमा पनि उत्तिकै निकटताभावका साथ भागिदार भएकी हुन् ।
“छक्कापञ्जा गर्ने स्वभाव नभएका कारण उहाँले जीवनका विभिन्न मोडहरूमा अनेक दुःख झेल्नुप¥यो” भन्दै शान्ता शर्माले त्यस दिन उनीबारेका धेरै सन्दर्भहरू सुनाइन् मलाई । तीमध्ये एउटा थियो विद्यावारिधि सन्दर्भ । उतिबेला तारानाथ शर्मालाई अमेरिकामा विद्यावारिधि अध्ययन गर्न जानेबेला विश्वविद्यालयबाट अध्ययन बिदाको स्वीकृति दिइएन छ । त्यसैले उनी त्यो बेला बेतलबी बिदा लिएर हिँडेका रहेछन् । अध्ययन पूरा गरेर देशमा फर्किंदा यता जागिर खोसिइसकेको थाहा पाएपछि विश्वविद्यालयको आफ्नो जागिर थमौती गराइपाउनका लागि उनले कतिलाई हारगुहार गरे रे । तर उनको केही लागेन छ । “त्यस दिन घरमा आएर उहाँ मसित रुनु भयो ।” शान्ता म्याडमले यसो भनेको सुनेर मलाई अलिकति छक्क जस्तो पनि लाग्यो । किनकि गुरु हत्तपत्त नगल्ने अलि कडा स्वभावका व्यक्ति हुन् भन्ने मेरो बुझाइ थियो । म छक्क परेको देखेर उनले भनिन्– “तपाईलाई पनि लाग्या थियो होला उहाँ कडा मनको मान्छे हो भनेर किनकि उहाँबारे अधिकांश लेखकहरूको बुझाइ त्यस्तै त्यस्तै भएको मैले पाएकी छु । वास्तवमा सबैले उहाँलाई गलत बुझे । आफूलाई मनमा लागेको कुरा चपाएर बोल्न जान्नुहुन्नथ्यो उहाँ, जे आफूलाई लाग्छ फ्याट्टै बोल्दिहाल्नु हुन्थ्यो, त्यो अलग कुरा हो । तर कडा हृदयको मान्छे चाहिँ होइन, उहाँ साह्रै कमलो हृदयको मानिस हुनुहुन्थ्यो । बच्चाजस्तै स्वभाव थियो उहाँको । कसैले तारिफ गरिदियो भने तुरुन्तै फुरुङ्ङ परिहाल्नुहुन्थ्यो । उहाँको त्यही स्वभावबाट कतिले फाइदा पनि लिए । तर उहाँलाई पर्दा तिनले कहिल्यै साथ दिएनन् । खाना र निद्राको समयसमेत नभनेर रातदिन उहाँ नेपाली साहित्यको सेवामा खटिइरहनुभयो, कतिका किताबहरूमा लेखिदिनुभयो, कतिका बारेमा बोलिदिनुभयो तर उहा“लाई पर्दा बोलिदिने कोही भएनन् । बेलाबेलामा यो कुरा उहाँ सम्झिनुहुन्थ्यो र मसित पनि आफ्नो मनको यो दुखेसो पोख्ने गर्नु हुन्थ्यो ।”
अस्थिर प्रकृतिको जागिरका कारण पनि गुरुको जीवन दुखेको रहेछ । म्याडमसित उनी भन्थे रे “स्थायी जागिर नभएका कारण उमेरभरि काम काम काम भनेर घोटिए पनि बुढेसकालमा ‘हात लाग्यो शून्य’ जस्तै भयो । मेरो पेन्सन पनि आउँदैन, कसरी घर चलाउँछ्यौ ?” बल्ल बल्ल एकेडेमीको आजीवन सदस्यमा मनोनित भएपछि भने त्यहाँबाट महिनैपिच्छे थोरै भए पनि रकम हातमा पर्न थालेछ । त्यसले गुरुको मनलाई ठूलो राहत मिलेकोे थियो अरे । उनी भन्थे रे– “यो मैले जीवनभर भाषासाहित्यका क्षेत्रमा गरेको सेवाबापत राज्यबाट पाएको विशेष सुविधा हो ।” नियमित रूपमा आउने रकम भएकाले त्यसबाट म्याडमलाई पनि घर चलाउन केही सजिलो परेको थियो अरे । “तर के गर्नु र सात महिनापछि उहाँसँगसँगै त्यो ‘सजिलो’ पनि मबाट खोसिइहाल्यो,” म्याडमले भनिन् । उनले अगाडि यो पनि भनिन् मसित– “मेरा पतिले पाउने आजीवन प्राज्ञको त्यो भत्ता जीवनभर भाषासाहित्यको क्षेत्रमा उहाँले पु-याएको विशिष्ट सेवाबापत यदि दिइएको हो भने त्यो उहाँले पाएकोे पेन्सनजस्तै त हो नि !, उहाँ दिवङ्गत भएपछि पत्नी भएका नाताले उहा“को त्यो सुविधा मैले पनि बाँचुञ्जेल पाउनुपर्ने होइन र बहिनी ?” निशन्देह, प्रश्न मार्मिक थियो तर त्यसलाई सम्बोधन गर्ने हैसियत भने मसित थिएन, सिवाय भावुक हुनु ।
तारानाथ गुरुका हरेक रचनाको प्रथम पाठक हुन् शान्ता शर्मा । हरेकजसो बेला केही लेखिसकेपछि उनलाई गुरुले सुनाउथे अरे । सुन्नैपथ्र्याे रे उनले । त्यसरी हरेक पटक सुन्दासुन्दा पछिपछि गएर त उनी आफैँलाई पनि छापिनुअघि नै गुरुका रचनाहरू नपढी नहुने जस्तो बानी प¥यो अरे । “उहाँ आफ्ना पुस्तक छापिनुअघि आफैँ प्रुफ हेर्नुहुन्थ्यो, त्यो काममा म पनि प्रायः सधैँजसो उहाँको साथमै हुन्थेँ, पढेर सघाउँथेँ उहाँलाईँ भन्दै त्यस दिन उनले तारानाथ गुरुका कयौँ पुस्तकहरूका प्रसङ्ग सुनाइन् मलाई । ‘बेलाइततिर बरालिँदा’ पुस्तक प्रकाशित हुनुअघिको सन्दर्भ खुलाउँदै उनले भनिन्– “त्यतिबेला हाम्रो भर्खरै मात्र विवाह भएको थियोे । उहाँले आफूसँगै मलाई बनारस लग्नुभयो । त्यहाँको प्रेसबाट उहाँको ‘बेलाइततिर बरालिँदा’ भन्ने पुस्तक प्रकाशित हुँदै रहेछ । त्यो पुस्तकको प्रुफ हामी दुवैले मिलेर हेरेका हौँ । मलाई प्रत्येक पाना पढ्न लगाउनुहुन्थ्यो उहाँ र सच्याउनुपर्ने ठाउँमा सच्याउँदै पनि जानुहुन्थ्यो ।” पुस्तककै कुरा गर्ने सन्दर्भमा ‘नेपाली साहित्यको इतिहास’को बारेमा पनि उनले उस्तै रोचक पाराले कुरा कोट्याएकी म सम्झन्छु । उनले भनेकी थिइन्– “यो किताब तयारीका क्रममा सामग्री सङ्कलन गर्न उहाँ पुस्तकालय पुस्तकालय धाउँदा म पनि प्रायः उहाँसँगै हुन्थे“ । सामग्री सङ्कलनको सिलसिलामा मदन पुस्तकालयमा घण्टौँघण्टा बसेर विभिन्न पुस्तकहरूबाट उहाँले चिनो लगाइदिएको भाग कापीमा सारेको कुरा मैले अझै बिर्सेकी छैन ।” देशभित्र होस् या बाहिर गुरु पुग्नुहुने हरेकजसो साहित्यिक कार्यक्रमहरूमा प्रायः शान्ता पनि हुन्थिन् रे भन्ने सुन्दा मलाई रमाइलो लाग्यो । “जहा“ जाँदा पनि उहा“ले मलाई पनि साथमा लग्नुहुन्थ्यो । त्यस्ता कार्यक्रमहरूमा स्रोता भएर बसिरहँन पाउँदा निकै रमाइलो लाग्थ्यो मलाई ।” मैले सोधे“– “त्यस्तरी साहित्यिक माहोलमा भिज्न पाउनु भएको रहेछ, आफू पनि पनि केही लेखू“ भन्ने भाव तपाईंको मनमा कहिल्यै आएन ?” जबाफमा उनले भनिन्– “मन लाग्थ्यो किन नलाग्नू र ? मनमा कति धेरै भावहरू भरिएको हुन्थ्यो तर घरको कामले गर्दा तुरुन्तु पोख्न समय मिल्दैनथ्यो, पछि ती सबै भावहरू त्यत्तिकै मनमै हराएर जान्थे ।” साँच्चै कति मार्मिक कुरा थियो यो उनको ! त्यति ठूला लेखकको त्यति धेरै नजिकको सङ्गतको अवसर प्राप्त हुँदाहुँदै पनि र आफूमा साहित्यप्रति रस बस्ताबस्तै पनि शान्ता म्याडमले कहिल्यै कलम उठाइनन्, कलम उठाउन भ्याइनन् अथवा भनौँ, उनले कलम उठाउँन हेक्का पु¥याइनन् ! कलेजमा प्राध्यापन गर्ने क्रममा गुरुले कति शिष्यहरूलाई व्यक्तित्वशाली बन्न हौस्याएका थिए होलान् । नारी शक्तिका बारेमा कति श्लोकहरू सुनाएका थिए होलान् । देश विदेशका नारी स्रष्टाहरूका कलमबारे कुरा उठाएका थिए होलान् । उनको कक्षामा बसेर पढेका हाम्रा कतिपय अग्रज साहित्यकार दिदीहरूले कुराकानीका सन्दर्भमा तारानाथ गुरुले “अझै राम्रो लेख्नू” भनेर उतिबेला प्रेरित गर्ने गरेको कुरा सुनाएको पनि म सम्झन्छु । त्यसैले मैले शान्ता म्याडमसित जिज्ञासा राखे“– “गुरुले पक्कै पनि तपाईंलाई “तिमी पनि लेख” भनेर कलम उठाउन प्रेरित गर्ने गर्नुभएको थियो होला नि ?” मेरो यो जिज्ञासाप्रति हाँस्तै उनले भनिन् “अहँ, उहाँले मलाई लेख्न कहिल्यै हौस्याउनु भएन । लेखिन भनेर उहाँले मसित कहिल्यै गुनासो गर्नु भएन । बरु उल्टै भन्नु हुन्थ्यो दुवैजना लेखेर बस्ने हो भने फेरि घर कसरी चल्छ नि !” शान्ता म्याडमले त्यो बेला यो कुरा हाँस्तैहाँस्तै सुनाउँदा म पनि हाँस्न त हासिदिए“, तर हासेर सुन्ने कुरा भने अवश्य नै थिएन यो । तारानाथ गुरुको प्राज्ञिकताले सबै पुरातन परिपाटीमा प्रश्न उठाउन हेक्का पु¥याएको भए पनि महिलाको परम्परागत लैङ्गिक भूमिका जो पितृसत्तारूपी सामन्ती समाजशास्त्रको निर्देशन हो, त्यो सामन्ती निर्देशनका विरुद्ध भने गुरुले जीवन औँला उठाउन सकेन छन्– औँला उठाउनु आवश्यक ठानेन छन् । यस विषयमा चाहिँ गुरुको विचार र व्यवहारमा ठूलै अन्तर रहेछ भन्ने मलाई बोध भयो । तर पनि कुरोको त्यो चुरोतिर पस्तै शान्ता म्याडमलाई त्यस सन्दर्भमा अरू थप प्रश्न भने गरिन“ मैले । किनकि दिवङ्गत गुरुको उक्त सोचगत कमजोरी पक्ष खोतल्नु उचित समय त्यो होइन भन्ने मलाई लाग्यो ।
त्यसपछि कुराको प्रसङ्ग फेर्दै मैले गुरुका अन्य रुचिहरूबारे उनीसमक्ष जिज्ञासा राखे“ । थाहा पाएँ– घरमा सबैलाई हँसाइरहनुपर्ने, ठट्टा गरिरहनुपर्ने, कोही ठुस्स परेर बसेको देखे तत्कालै फकाइहाल्ने बानी थियो रे गुरुको । उनलाई फुटबल गेम हेर्न एकदम रमाइलो लाग्थ्यो अरे । गीतको पनि उस्तै सौखिन थिए रे उनी । घरमा अघिअघि साथीभाइहरूको भेला हु“दा मस्तसित गीत गाएर सुनाएदिन्थे अरे । एक्लै हुँदा पनि प्रायजसो गुनगुनाइरहेका हुन्थे रे । बच्चु कैलाशका सबैजसो गीत खुब मन पथ्र्यो अरे उनलाई, कण्ठै आउँथ्यो अरे । “सम्झना शक्ति पनि अत्यन्त तीक्ष्ण थियो उहाँको” भन्दै शान्ता म्याडमले भनिन्– “उहिले उहिलेका सानासाना घटनाहरू पनि उहाँले बिर्सिनुभएको हुन्नथ्यो । ती घटनाहरूमा फूलबुट्टा हालीहाली यति रोचक तुल्याएर सुनाउनु हुन्थ्यो कि कथा सुनेकोजस्तै लाग्थ्यो हामीलाई । कयौँ देशी विदेशी कविहरूका कविता उहाँ आफैँले लेखेको रचनाजस्तै गरी भावमा डुबेर सुनाउनु हुन्थ्यो । विभिन्न साहित्यकारहरूका विभिन्न सन्दर्भहरू सम्झाएर कहिले भावुक पारिदिनु हुन्थ्यो भने कहिले हँसाएरै मार्नुहुन्थ्यो ।”
तारानाथ गुरुले जीवनको लामो समयभरि अरू लेखक स्रष्टाहरूबारे निरन्तर अध्ययन गर्ने, बोल्ने, लेख्ने काम गरिरहेका हुन् । तिनका साहित्यिक प्राज्ञिक कर्मका सूचनाहरू आफ्नो ज्ञानमा टम्म भरेर राखेका हुन् । त्यति मात्र होइन, ती लेखक स्रष्टाहरूका योगदानले निर्माण भएको मुलुकको साहित्य सम्पदाको इतिहास तयार पार्ने काममा समेत उनी पछि परेका होइनन् । तर विडम्बना, यस्ता भरिला, झरिला देशका एक शिखर प्रतिभा जीवनको पछिल्लो प्रहरमा पुगेपछि अरू त अरू आफ्नै बारेमा समेत सररर्र अभिव्यक्तिन नसक्ने अवस्थामा पुगे । बोल्दाबोल्दै बीचबीचमा लरबरिने अलमलिने अवस्थामा उनी भए । दिवङ्गत हुनुभन्दा तीन वर्षअघि एउटा टीभी अन्तर्वार्तामा उनको प्रकाशित पुस्तकबारे पत्रकारले प्रश्न गर्दा उनले आफ्नै पुस्तकको नाम सम्झन सकेनन् । त्यो बेला गुरुको त्यो अन्तर्वार्ता हेर्दैगर्दा मलाई अत्यन्त दुःख लागेको हो । तर यथार्थ जे देखिएको हो त्यो नकार्न पनि त सकिँदैनथ्यो ! साहित्यिक बजारमा पनि हल्ला सुनिएको हो– “तारानाथ गुरुलाई अन्तिम अवस्थामा विस्मृतिको समस्या देखापरेको थियो रे भन्ने । “के यो हल्ला सत्य थियो ?” मैले शान्ता म्याडमलाई प्रश्न गरे“ । मेरो प्रश्नलाई सम्बोधन गर्दै उनले भनिन्– “उहाँमा विस्मृतिको समस्या थोरैथोरै त देखिएको हो । तर पूरै विस्मृतिमा चाहिँ उहाँ हुनुहुन्थेन अन्तिम क्षणसम्मै पनि ।” “मरेर गइसकेका साहित्यकारहरूकाबारेमा मान्छेहरू त्यत्तिकै जे पनि बोलिदिन्छन्” बजारका हल्लाप्रति शान्ताले थोरै चित्तदुखाइ पनि व्यक्त गरिन् ।
शान्ता म्याडमका भनाइअनुसार जीवनका पछिल्ला दिनहरूमा गुरु तीव्र रूपमा एक्लोपनको नियास्रोले बिथोलिएका थिऐ अरे । खास गरी भाइ दुर्गानाथ शर्माको अचानकको देहावसानको घटनाले उनको मनमा ठूलो आघात पुगेको थियो अरे । सधैँ भनिरहन्थे रे “काइँलो पनि मलाई छोडेर गइहाल्यो !” अर्कोतिर कोरोना कहरका कारणले गर्दा छाएको शून्यपनले पनि उनी उस्तसितै नियाँस्रिएका थिए अरे । धेरैजसो टोल्हाइरहन्थे अरे । कसैले “मलाई चिन्नु भयो ?” भनेर सोध्यो भने केही बोल्नु उनी रचाउँदैन थिए अरे, एक छिन् टोल्हाएर हेरिरहन्थे अरे र पछि त्यत्तिकै फिस्स हाँसिदिएर टारिदिन्थे रे । तर उनको त्यो ‘टोल्हाइ’ र ‘नबोलाइ’ विस्मरणको समस्या होइन, एक्लोपनको नियाँस्रो हो भन्ने कुरा शान्ता शर्माले राम्ररी बुझेकी थिइन् । कुराकानीका क्रममा उनले अन्त्यमा एक दिनको घटना यसरी सुनाइन्– “त्यस दिन छोरो अनलले त्यत्तिकै उहाँलाई सोध्यो ‘ड्याडी मलाई चिन्नुभयो ?’ उहाँ केही नबोलेर एकछिन् छोरोको मुख हेरिरहनुभयो, आँखाभरि आँसु पार्नुभयो, अनुहार रातो भयो उहा“को । एक्कैछिन् पछि उहाँले छोरोलाई गम्लङ्ग अँगालो हाल्नुभयो र भन्नुभयो ‘मेरो छोरो, तिमीलाई किन चिन्दिन“ र म ? म सबैलाई चिन्छु । सबै कुरा थाहा छ मलाई । अचेल कोही साहित्यकारहरू पनि किन मलाई भेट्न आउँदैनन् ? मलाई थाहा छ, सबैले मलाई माया मारी सके ...!”