• १० मंसिर २०८१, सोमबार

जीवन रक्षक खोप

blog

कतिपय रोग लाग्नबाट बच्न हामीले खोप लगाउनुपर्छ । लागत प्रभावकारिताको हिसाबले पिउने पानी पछिको दोस्रो नम्बरमा खोपलाई विश्व समुदायले लिने गर्दछ । खोपलाई एक उत्तम खरिद वस्तु मानिन्छ । विश्वबाट हालसम्म उन्मूलन भएको एक मात्र रोग बिफर खोपले गर्दा नै सम्भव भएको थियो । पोलियो रोगलाई चाँडै उन्मूलन गर्ने अभियान चलिरहेको छ ।

नेपालमा खोपको इतिहास सन् १८५० बाट सुरु भएको मानिन्छ । तत्कालीन शाही परिवार र राणा परिवारमा एक जना विदेशी डा. ओल्ड फिल्डले बिफरविरुद्धको खोप सुरुवात गरेका थिए । खोप कार्यक्रमचाहिँ सन् १९६० को दशकमा नेपालका केही जिल्लामा पहिलो पटक सुरु गरियो र त्यो थियो बिफरविरुद्धको खोप । सन् १९७७ मा नेपालबाट बिफर उन्मूलन भएपछि विस्तारित खोप कार्यक्रमको सुरुवात भयो । जसअन्तर्गत क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार गरी चारवटा रोगविरुद्ध खोप लगाउने कार्यको थालनी भयो ।

सन् १९८९ देखि खोप कार्यक्रमलाई अन्य कार्यक्रमसँग एकीकृत गरी ७५ जिल्लामै खोप कार्यक्रम सञ्चालन गर्न थालिएको थियो ।

नेपालको सफल स्वास्थ्य कार्यक्रममध्ये पर्ने राष्ट्रिय खोप कार्यक्रम देशभर करिब १६ हजार खोप केन्द्रबाट बालबालिका तथा गर्भवती महिलालाई मासिक निःशुल्क खोप सेवा दिइँदै आएको छ । चारवटा रोगविरुद्ध खोप दिन सुरु गरिएकोमा समय समयमा रोगको भार र नेपालको आर्थिक क्षमताले भ्याउने गरी नयाँ खोप तथा अन्य देशमा प्रचलनमा आएको तर हाम्रो देशमा सुरु नगरिएका खोप थप्दै बालबालिकालाई प्रदान गरिने गरेको छ ।


हालसम्म १२ खालका खोपबाट बचाउन सकिने रोगविरुद्ध निःशुल्क खोप नेपालमा उपलब्ध छन् । नेपालमा बर्सेनि करिब छ लाख शिशु जन्मन्छन् र एक बच्चालाई पूर्ण मात्रा खोप दिन करिब पाँच हजार रुपियाँ खर्च लाग्ने गर्छ । हाल नेपालमा सञ्चालित धेरैजसो खोप नेपाल सरकारको स्रोतबाट खरिद गर्नुपर्ने हुन्छ । केही खोप गाभी र नेपाल सरकारको संयुक्त खर्चमा खरिद गरिन्छ ।

राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार एक बच्चाले सात पटक खोप केन्द्रमा पुगी खोप लगाएमा मात्र पूर्ण खोप प्राप्त गर्दछ । खोप एक संवेदनशील औषधिअन्तर्गत पर्दछ । सामान्य औषधिजस्तो जहाँ पायो त्यहाँ भण्डारण गर्न सकिने वस्तु होइन खोप । यसलाई निश्चित तापक्रममा मात्र भण्डारण गर्नुपर्दछ ।

जिल्ला, पालिका तथा खोप केन्द्र तहमा प्रायः खोपलाई २–८ डिग्री सेन्टिग्रेड तापक्रम रहेको रेफ्रिजेरेटरमा भण्डारण गर्नुपर्दछ । खोप उत्पादन गर्ने कम्पनीमा उत्पादन गरेदेखि बालबालिका तथा गर्भवती महिला एवं लक्षित वर्गका लागि खोप केन्द्रमा पुग्दासम्म चिसो व्यवस्थापन नबिग्रने गरी २–८ डिग्री सेन्टिग्रेडमा खोप राख्नुपर्ने भएकाले यसको ढुवानीमा विशेष सावधानी आवश्यक रहन्छ ।

खोपको प्रकृति हेरेर कुनै खोप एक पटक मात्र लगाए शरीरमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन्छ भने कुनै खोप दुई पटक वा तीन पटकसम्म लगाउनुपर्ने हुन्छ । 

सन् २०१६ को नेपाल डेमोग्राफिक स्वास्थ्य सर्वेक्षणले पूर्ण खोप लगाएका बालबालिका ७८ प्रतिशत मात्र देखाएको थियो । खोप लगाएपछि खोप कार्डमा लगाएको मिति तथा पुनः खोप लगाउन आउनुपर्ने मिति, कुन खोप लगाएको हो, त्यसले कुन–कुन रोगविरुद्ध काम गर्दछ र त्यसको सामान्य असर के–के हुन सक्छन्, अब कुन खोप लिन बाँकी छ भन्ने सन्देश राम्रोसँग स्वास्थ्यकर्मीले बालबालिकाका आमाबाबुलाई बुझाउन सकेमा तथा सही परामर्श दिएमा खोप लगाउनबाट कुनै पनि बालबालिका नछुट्ने देखिन्छ ।

नेपालको सरकारी तथा गैरसरकारी निकाय, निजी अस्पताल तथा मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैले बालबालिका तथा गर्भवती महिलालाई नेपाल सरकारले उपलब्ध गराएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पर्ने खोप निःशुल्क उपलब्ध गराउँछन् ।

खोप सेवालाई थप प्रभावकारी, मर्यादित, गुणस्तरीय एवं नियमन गर्नका लागि नेपालमा खोप ऐन २०७२ तथा खोप नियमावली समेत कार्यान्वयनमा ल्याएको छ । कुनै अभिभावकले मेरो बच्चालाई म खोप लगाउँदिन मेरो अधिकारको विषय हो भनेर अटेरी गर्न नपाउने, यदि गरेमा खोप ऐन तथा नियमावलीअनुसार सजायको भागिदारसमेत हुने कानुनी व्यवस्था गरिएको छ ।

यसैगरी एक पटक सुरुवात गरी नियमित खोप कार्यक्रममा समावेश भएको खोप कुनै कारणवश आर्थिक सङ्कट उत्पन्न भई खोप सेवामा अवरोध हुन नदिन खोप कोषको समेत व्यवस्था गरिएको छ ।

नेपालमा यसरी खोप कार्यक्रमलाई प्राथमिकता प्राप्त पहिलो कार्यक्रमका रूपमा स्थान दिइएको छ । नेपालको गाउँ समुदायमा अझै पनि खोप सेवाको पहुँच राम्रो सँग पुगेको छैन । यसैकारण खोपबाट बचाउन सकिने रोगहरू दादुरा, रुबेला बेलाबेलामा देखिने गरेको छ ।

सन् २०२३ सम्ममा दादुरा निवारण गर्न सन् २००४ देखि नेपालमा अभियानस्वरूप पटक पटक नौ महिनादेखि पाँच वर्ष तथा १५ वर्षसम्मका बालबालिकालाई दादुरा तथा रुबेलाको दोस्रो मात्रा दिएको थियो । दादुरा खोपको पहिलो मात्राको प्रभावकारिता करिब ८५ प्रतिशत मात्र हुने भएको हुँदा दादुराको खोप लगाए पनि दादुरा रोग लाग्ने भएकाले दोस्रो मात्रा लगाइनु जरुरी छ ।

दादुरा खोप दोस्रो मात्रा लगाएमा त्यसको प्रभावकारिता करिब ९५ प्रतिशत हुने भएकाले दादुरा रोगलाई निवारण गर्न सकिन्छ । á

–लेखक पूर्व जनस्वास्थ्य प्रशासक हुन् ।