• ४ मंसिर २०८२, बिहिबार

पाकिस्तानी सेनाद्वारा अफगान सीमाक्षेत्रमा २३ जना आतङ्ककारीको हत्या

blog

इस्लामाबाद (पाकिस्तान), मङ्सिर ४ गते । पाकिस्तानी सेनाले अफगान सीमाक्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । आतङ्कवादी पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहका भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।  

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । इस्लामावादले नियमितरूपमा काबुललाई आतङ्कवादी समूह, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन् । पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ । 

यद्यपि आक्रमणको जिम्मेवारी भने पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ । पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबिचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका छन् । 

हाल दुई देशका आपसी सीमा बन्द भएका छन् । अन्ततः दुई दक्षिण एसियाली छिमेकी युद्धविराममा सहमत भए पनि सर्त पालना गर्नमा आएका गतिरोधका लागि एक-अर्कालाई दोषारोपण गर्दै आएका छन् । रासस/एएफपी