ज्ञानु पंगेनी
मध्यविन्दु, मङ्सिर ४ गते । नवलपुरको कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा शुक्रवार र शनिवार दुई दिनसम्म मुटुरोग परीक्षण शिविर आयोजना गरिएको हो ।
विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको रोटरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष कृष्ण अर्यालले बताउनुभयो । शिविर कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा हुने अर्यालले बताउनुभयो ।
कावासोतीमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा, शिविरका सन्दर्भमा जानकारी गराउँदै अध्यक्ष अर्यालले मुटु परीक्षण महँगो पर्ने हुँदा विशेष गरी आर्थिक रूपले अशक्त र मुटुसम्बन्धी कुनै लक्षण देखिएका व्यक्तिहरूलाई लक्षित गरेर शिविर आयोजना गरिएको अर्यालले बताउनुभयो । शिविरमा बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सेवा प्रदान गरिने उहाँको भनाइ छ।
क्लबका पूर्व अध्यक्ष अर्जुन सापकोटाले शिविरमा परीक्षणका लागि आउने सबै व्यक्तिहरूलाई मुटुको परीक्षण गरिने नभई छनाेट गरेर मात्रै जाँच हुने जानकारी दिनुभयो । सुरुमा पहिलो चरणको जाँच हुने र चिकित्सकले पहिलो चरणको परीक्षणबाट मुटुकै परीक्षण गर्न आवश्यक ठानेमा मात्रै मुटुको परीक्षण गरिने नभए नहुने उहाँले जानकारी दिनुभयो ।
क्लबका पूर्व अध्यक्ष हरि ढुङ्गानाले शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट परीक्षण गरिने हुँदा मुटुसम्बन्धी कुनै लक्षण देखिएको वा शङ्का लागेको छ भने शिविरमा आएर लाभ लिन अनुरोध गर्नुभएको छ। मध्यविन्दु प्रादेशिक अस्पताल र चितवनबाट विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा परीक्षण गर्ने ढुङ्गानाले बताउनुभयो ।
आयोजक संस्थाले दुई दिनसम्म चल्ने शिविरमा करिब तीन सय जनाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।