केशव राज भट्ट
वाशुलिङ (बैतडी), मङ्सिर ४ गते । जिल्ला अस्पताल बैतडीमा हाल सम्म बिरामीलाई रगत अभावका भयो भने सेना–प्रहरीलाई गुहारिनु पर्ने अवस्था रहेको थियो । अब उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गर्ने तीव्र तयारी भइरहेको छ ।
ब्लडबैंक स्थापना भएपछि जिल्लामा सहजै सुरक्षित र व्यवस्थित रूपमा रगत उपलब्ध हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । रगत अभावका कारण उपचारमा समस्या देखिँदै आएकाले तत्काल प्रभावकारी व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।
मिनी ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीबिच जिम्मेवारी बाँडफाँट गरिएको छ ।
नगरपालिकाले आवश्यक जनशक्ति उपलब्ध गराउनेछ भने उनीहरूलाई तालिम तथा प्राविधिक स्रोत–साधन जिल्ला रेडक्रसले व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र स्थान भने जिल्ला अस्पतालले उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
‘सम्बन्धित निकायले आफ्नो–आफ्नो जिम्मेवारी लिएको र केही दिनभित्र नै मिनी ब्लड बैंक सञ्चालनमा आउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । जिल्लामा नियमित, ब्लड सङ्कलन हुन थालेपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइने पौडेलले बताउनुभयो । यसले रगत नष्ट हुने समस्या कम हुने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ ।