• ४ मंसिर २०८२, बिहिबार

नगर अस्पतालमा इकोकार्डियोग्राफी सेवा

blog

नगर अस्पताल लालबन्दी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर ४ गते ।
सर्लाहीको लालबन्दी नगरपालिकास्थित नगर अस्पताल लालबन्दीमा इकोकार्डियोग्राफी सेवा सुरु गरिएको छ ।

पछिल्लो समय विभिन्न प्रकारका विशिष्टिकृत सेवा प्रदान गर्न सुरु गरेको नगर अस्पतालले इकोकार्डियोग्राफी अर्थात् इको सेवासमेत प्रारम्भ गरेको हो । यो सेवा सुरु भएसँगै अब यहाँका मुटुका बिरामीले आफ्नै ठाउँमा सेवा पाउने भएका छन् ।

इकोकार्डियोग्राफी सेवाअन्तर्गत बिरामीको मुटुमा समस्या भए/नभएको पत्ता लगाउन सकिने नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालका इन्टरनल मेडिसिन डा. अभिनेषकुमार झा वीर अस्पताल काठमाडौँमा इको सेवासम्बन्धी एक महिने तालिम लिएर भर्खरै आउनुभएको छ ।

नगर अस्पताल आफैले आवश्यक औजारउपकरण खरिद गरेर इकोकार्डियोग्राफी सेवा सुरु गरेको मेसु डा. चौधरीले बताउनुभयो । तत्कालका लागि डा. झाले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म इकोकार्डियोग्राफी सेवा प्रदान गर्नुहुने नगर अस्पताल लालबन्दीले जनाएको छ ।

इकोकार्डियोग्राफी सेवाबापत एक हजार ५० रुपियाँ शुल्क लिने नगर अस्पतालले निर्णय गरेको छ । यसअघि यस क्षेत्रका मुटुका बिरामी वीरगन्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत स्थानमा गएर यो सेवा लिन बाध्य रहेका थिए ।

नगर अस्पताल लालबन्दीमा यसअघि देखि नै मेडिकल सुपरिटेन्डेन्टसमेत रहनुभएका मानसिक रोग विशेषज्ञ डा. चौधरीले मानसिक रोगका बिरामी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारले सीएससहितको प्रसूति सेवा प्रदान गर्दै आइरहनुभएको छ । अस्पतालमा पछिल्लो समय ओपिडीतर्फ पनि चिकित्सक बसेर सेवा प्रवाह गर्न थालेसँगै बिरामीको चाप बढ्दो छ ।

लालबन्दी र आसपासका पालिकाबाट दैनिक ठुलो सङ्ख्यामा बिरामी आउँदा अस्पताललाई चाप थेग्नै मुस्किल पर्दै आइरहेको छ । लालबन्दी नगरपालिका मातहत रहेको नगर अस्पतालमा क्रमिकरुपमा अन्य विशिष्टीकृत सेवा थप गर्दै लैजाने योजना रहेको नगरप्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।