• ६ वैशाख २०८१, बिहिबार

अनलाइनबाटै मतदाता नामावली

blog

आम नेपाली जनता लोकतन्त्र तथा आफ्नो मतदान अधिकारप्रति कति सचेत तथा जागरुक छन् भन्ने उदाहरणका रूपमा बिहीबारको राजधानीको एक घटनालाई लिन सकिन्छ । यही असार ९ गते अर्थात् बिहीबार काठमाडौँको जिल्ला प्रशासन कार्यालय मातहतमा मानिसहरू मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छ घण्टासम्म लाइन बसे । असार महिनाको टण्टलापुर घाममा छ-छ घण्टा लाममा बिताउनु सामान्य विषय होइन ।

नागरिक हक प्रयोग गरी लोकतन्त्रप्रतिकै विश्वास वृद्धि गर्ने यो अटल विश्वास हो । परिश्रमसमेत हो । लोकतन्त्रप्रतिको आस्थाका साथै आफ्नो मताधिकारका निम्ति उनीहरूलाई गर्मी र कठिनाइले किञ्चित रूपमा पनि विचलित गर्न सकेन । यस घटनाले नेपालमा सङ्घीय गणतन्त्र र लोकतन्त्रको भविष्य सबल एवं सुदृढ हुँदै गइरहेको तथ्यलाई समेत इङ्गित गर्दछ ।

केही हप्ताअघि मात्र मुलुकमा स्थानीय तहको निर्वाचन मतदाताको उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ । नयाँ प्रतिनिधिले कार्यभार सम्हालेर नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भइरहेको छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसै वर्षभित्र मुलुकको सङ्घीय संसद् तथा प्रदेश सभाको निर्वाचन हुने लगभग तय छ । निर्वाचनको घोषणा हुन मात्र बाँकी छ ।

निर्वाचनका लागि आवश्यक तयारी पनि उपयुक्त तवरले हुँदै छ । त्यस क्रममा मतदाता नामावली दर्ता तथा सङ्कलन हुँदै छ । यो निर्वाचन प्रक्रियाको एक महत्वपूर्ण हिस्सा हो । निर्वाचन घोषणाअघि नै यो कार्य पूरा हुनुपर्छ र यो नियमित प्रक्रिया हो । मतदाता नामावली अद्यावधिक हुनैपर्दछ । अन्यथा निर्वाचन प्रणालीको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा हुन सक्छ ।

यस अवस्थामा निर्वाचन आयोग, सरकार तथा सम्बद्ध जिम्मेवार निकायले मतदाता नामावली दर्ता अद्यावधिक गर्नाका खातिर उपयुक्त व्यवस्थापन गर्नु नितान्त जरुरी हुन्छ । यसबाट विभिन्न कारणले नाम दर्ता नभएका वा उमेर पुगेका नयाँ मतदातालाई नाम दर्ता गराउने अवसर उपलब्ध हुन्छ ।

खुसीको कुरा मतदाता नामावली दर्ता गर्न अब दिनभर घाममा लाइन बस्नु नपर्ने भएको छ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अनलाइन प्रविधि प्रयोगमा ल्याउने भएको छ । यसअघि जिल्ला प्रशासन, इलाका प्रशासन वा निर्वाचन कार्यालय गएर गर्नुपर्ने कार्य अब घर बसेर नै गर्न सकिने भएको छ । यसबाट मतदाता नाम दर्ता प्रक्रिया निकै सहज तथा सरल हुने भएको छ ।

अबको १० दिनभित्र आयोगले घरबाटै नाम दर्ता गराउन सकिने सुविधा उपलब्ध गराउनेछ । त्यसका लागि सफ्टवेयर निर्माणलगायतका सबै प्राविधिक कार्य सम्पन्न भइसकेको जानकारीमा आएको छ । अनलाइनबाट मतदाता नामावली दर्ताको यो प्रक्रिया हाल बायोमेट्रिक्स भोटर्स रजिस्टे«सन सिस्टममार्फत भइरहेको नामावली दर्ताकै परिष्कृत रूप भएको बताइएको छ । 

निर्वाचन कार्यालयलगायतका सम्बन्धित कार्यालयमा पर्याप्त मात्रामा जनशक्ति नहुँदाको अवस्थामा हाल नामावली दर्ताका लागि सकसपूर्ण स्थिति सिर्जना हुने गरेको यथार्थ हो । अनलाइन प्रविधि प्रयोगमा आएपछि यी कार्यालयमा ७० प्रतिशतसम्मले कार्यबोझ कम हुने अनुमान गरिएको छ । यसबाट नाम दर्ता प्रक्रिया बिनाझन्झट नै सम्पन्न हुनेछ । केही सामान्य प्रक्रिया पूरा गरेपछि अनलाइन रजिस्ट्रेसनका लागि कार्य अगाडि बढ्नेछ । यसपछि प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा गएर मतदाता नामावलीमा दर्ता हुनेछ र मतदाता आफ्नो इच्छानुसारका उम्मेदवारलाई मतदान गर्न सक्षम हुनेछन् ।

 मतदाता नामावली दर्ताको यस सहज प्रक्रियाबाट नागरिकले निश्चित रूपमा राहत महसुस गर्नेछन् । निर्वाचनमा मतदाताको सहभागितामा यसले सकारात्मक प्रभाव पार्न सक्नेछ । सङ्घीय र प्रदेश निर्वाचनका लागि यही असार १ गतेदेखि नयाँ नामावली सङ्कलन प्रक्रिया सुरु भएको हो । विशेषगरी काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा नामावली दर्ताको प्रक्रियामा निकै चाप देखिएको छ ।

यस सन्दर्भमा अनलाइन नाम दर्ता वास्तवमै निकै महत्वपूर्ण तथा उपयोगी साबित हुन सक्नेछ । अनलाइन नाम दर्ता प्रक्रियालाई अझ बढी सहज बनाउन भने सम्बन्धित निकायको प्रयास पनि आवश्यक देखिन्छ । मुलुकका सबै भागमा अनलाइन नाम दर्ताका लागि आवश्यक पर्ने कम्प्युटर, इन्टरनेटलगायतका सेवासुविधा उपलब्ध हुन नसक्ने स्थितिलाई दृष्टिगत गरेर कुनै निश्चित स्थानमा यी सेवासुविधा उपलब्ध हुने आवश्यक प्रबन्ध मिलाउन सकिए यो कदम थप प्रभावकारी हुनेमा दुईमत हुने छैन ।