इस्लामाबाद, पाकिस्तान, भदौ १२ गते । भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीले पञ्जाब प्रान्तका तीन वटा प्रमुख नदीका छेउछाउका क्षेत्रबाट एक लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।
भारी वर्षा र बाढीले पानीको सतहले खतराको सीमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाउनुभएको छ ।
उहाँका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षित स्थलतर्फ भागेका छन् । पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बिचमा रावी, सतलज र चेनाब नदीले ठुलो बाढीको सामना गरिरहेको जनाइएको छ । रासस/क्युएनए