काठमाडौँ, भदौ १२ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताउनुभएको छ ।
मध्य बानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उहाँले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो । धर्म, सत्कर्ममा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ, समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रूपमा सत्संगले मद्दत गर्छ । आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न प्रेरित गरोस् ।’’
अहिले मानिसहरूको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकाले मानिसलाई सद्विचार हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै ती संस्थाहरूलाई प्रवर्धन गर्नुपर्ने सिंहको भनाइ छ ।