• १२ भदौ २०८२, बिहिबार

‘सेवा लिन अपाङ्गता भएकालाई पाइलैपिच्छे सास्ती’

blog

गण्डकी प्रदेशस्तरीय क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरू । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, भदौ १२ गते । राज्यका निकायहरू अपाङ्गप्रति सकारात्मक बन्न नसकेको सरोकारवालाले बताएका छन् । उनीहरूले सरकारी कार्यालयमा समेत अपाङ्गमैत्री संरचना नबन्दा सेवा लिन जाँदा पाइलैपिच्छे सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

सरकारी कार्यालयमा शारीरिक अपाङ्गता भएका नागरिकलाई चाहिने र्‍याम्प नभएको, बहिरा पुग्दा दोभासे नभएको, दृष्टीविहीन पुग्दा सहयोगी नपाइने समस्या भोगेको उनीहरूको भनाइ छ । 

नेपाल आदिवासी जनजाती अपाङ्ग सङ्घले आयोजना गरेको प्रदेशस्तरीय क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन विषयक अन्तर्क्रियाका सहभागीले राज्यको नीति भए पनि काम गर्न अप्ठ्यारो पर्दा अपाङ्गहरूले सरकारी कार्यालयमा पुगेर सहज सेवा लिन नसकेको गुनासो गरे । भएको रकमबाट कार्यक्रम गर्दा निकै झन्झट खेप्नुपरेको दुःखेसो सुनाएका छन् । 

शारीरिक अपाङ्गता भएकाहरूले त झनै समस्या खेपेको गुनासो गरे । ब्हीलचियर प्रयोगकर्ता कविता शाक्यले होटलमा कार्यक्रम भयो भने जान नसकिने, सरकारी कार्यालयमा पनि र्‍याम नभएको, अपाङ्गलाई दिने ब्हीलचियर आवश्यकताअनुसार नपाएको भोगाइ सुनाउनुभयो । 

दृष्टीविहीन विकल थापा, कुमार पुन, चिजा श्रीष र बहिरा विद्यालयका शिक्षक वसन्तजङ्ग राजभण्डारीले अपाङ्गलाई सहज सेवा लिने वातावरण कहिले बन्छ भन्दै प्रश्न गर्नुभयो । 

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने नीति लिएको बताउँदै अपाङ्ग भएकै कारण कोही पनि सेवाबाट बञ्चित नहुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो । नगरपालिकाले–७ सय ५ जना अपाङ्गलाई परिचयपत्र वितरण गरेको, परिचयपत्र वितरणका लागि समावेशी प्रकारको सहयोग समिति गठन गरेको समेत नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

हरेक वर्ष नगरपालिकाबाट सहायता सामग्री वितरण गरिएको, अपाङ्गता भएकाहरूलाई आयआर्जनमा जोडिएको, शिक्षा, स्वास्थ्य र रोजगारीमा अवसर समेत सिर्जना गर्ने काम गरेको श्रेष्ठको भनाइ थियो । गत वर्ष मात्र दृष्टीविहीनलाई सरफ बनाउने उद्योग सञ्चालन गर्न ४ लाख रुपियाँ सहयोग गरेको नगर प्रमुख श्रेष्ठले स्मरण गराउनुभयो । कार्यक्रममा अपाङ्गताको क्षेत्रका क्रियाशील अभियानता खड्ग सारूले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय नीतिलाई नेपालमा गरिएको उपयोगसम्बन्धी प्रतिवेदन, नेपालका अपाङ्गता भएका आदिवासी जनजातीको श्वेतपत्र र नगर उपप्रमुख राजु खड्काले अहिलेसम्म नगरपालिकाले गरेका कामबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।