• १४ वैशाख २०८१, शुक्रबार

रेलवे प्रभावितलाई मुआब्जा दिन आग्रह

blog

लीलाराज खड्का

बिर्तामोड, असार ११ गते  । झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा दिन र कृषककालागि तत्काल  रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् । कृषकका लागि मल अभाव, विपद्को पूर्व तयारी, रेलवे प्रभावितका समस्या, बिर्तामोडको बुधबारे हटियाको समस्या, चिया क्षेत्रका समग्र समस्या, सन्थाल समुदायको पहिचान र अस्तित्वको छलफल भएको हो । 

दलले गत निर्वाचन खर्चिलो भएको भन्दै निर्वाचन मितव्ययी हुनुपर्नेमा समेत  नेताहरुको जोड रहेको छ । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा (एमाले) झापाका छबिलाल विश्वकर्मा, नेकपा (माओबादी केन्द्र) का संयोजक राजु आचार्य, नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष बेदराज रेग्मी, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वालाराई,  लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा र  नेकपा (माले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगेन्द्र प्रसाईले सो समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सम्वोधन गर्न माग गर्नुभएको छ  ।  

संवाद समूहको संयोजनमा भएको  अन्तरक्रियामा दलहरुले सबैको सहयोगबाट स्थानीय तहको निर्वाचन झापामा शान्तिपूर्ण, मर्यादित, व्यवस्थित रुपमा सम्पन्न भएको दलका नेताहरुले बताउनुभएको छ । स्थानीय जनप्रतिनिधिलाई दलहरुले सहमति र सहकार्य तथा जनभावनाअनुसार अग्रसर भई स्थानीय सरकारलाई सुशासनयुक्त बनाउन समेत  आग्रह गरेका छन् ।

दलहरुले कृषकका लागि तत्काल आवश्यक मलखादको व्यवस्था र सहज वितरणको व्यावस्था  गर्न  सरकारको ध्यानाकर्षण गराएका छन् । वर्षाद्का कारण झापामा बाढी, डुबान र कटानबाट क्षति सुरु भएको विषयप्रति गम्भीर हुँदै दलहरुले विपद् पूर्वतयारीमा जुटन समेत सरकार र सम्बन्धित निकायसमक्ष अपिल  गरेका छन् ।  

छलफलमा प्रस्तावित पूर्व–पश्चिम बिद्युतीय रेलमार्ग अन्तर्गत काकरभिट्टा—इनरुवा खण्डको १०६.७५ किलोमिटर क्षेत्रमा पर्ने रेलवे प्रभावितका समस्या तत्काल सम्वोधन गर्न दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रभावितहरुका तर्फबाट रेलवे प्रभावित मुआब्जा समन्वय समिति प्रदेश १ का संयोजक डा. लक्ष्मीप्रसाद मैनालीले आफ्ना समस्यावारेमा दलहरुलाई जानकारी गराएउनुभएको थियो ।