नवराज कट्टेल
विराटनगर, भदौ १० गते । बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट, इनर्जी ड्रिङ्क र सोडालगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बनडाइअक्साइड (सिओटु) नेपालमै उत्पादन सम्भावना छ ।
देशभरका मदिरा उद्योगमा सहउत्पादनका रूपमा सिओटु निस्कन्छ तर त्यसको आन्तरिक उपयोग नगरी ठुलो परिमाणमा आयात गर्ने गरिन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय पदार्थका लागि प्रयोगमा ल्याउन यसको आयातमा हुने न्यून भन्सार दर बाधक बन्ने गरेको उद्योगीको गुनासो छ ।
सम्भावना देशभित्रै भए पनि भारतबाट अनावश्यक वस्तुको आयात भइरहेको उद्योगी बताउँछन् । हाल नेपालमा विराटनगरको प्रिमियर अर्गानिक्स उद्योगले मात्रै सिओटु उत्पादन गर्दै आएको छ । बाँकी मदिरा उद्योगले आफ्नो सहउत्पादन (बाइप्रोडक्ट) त्यत्तिकै खेर जान दिइरहेका छन् ।
प्रिमियरले प्याकेजिङ र बजारीकरण गर्दै आएको सिओटु अन्य उद्योगले प्रयोगमा ल्याउन नसक्नुको कारण भने सस्तो भन्सार दर र न्यून बीजकीकरणमा आयात हुनु हो । सिओटु बजारमा पठाउन लाग्ने लागतभन्दा कम मूल्यमा आयातित हुने गरेपछि अन्य उद्योग यसमा नलागेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार यसको भन्सार महसुल १५ प्रतिशत तोकिए पनि साफ्टा सुविधा अन्तर्गत ७.२५ प्रतिशतमा आयात गर्ने सुविधा छ । जसकारण नेपालमा मदिरा उत्पादन गर्ने उद्योगले अर्को प्लान्ट जडान गरेर यसको उत्पादनमा ध्यान दिँदैनन् ।
नेपालमा सिओटु उत्पादन गर्दै आएको एक मात्रै उद्योग प्रिमियर अर्गानिक्सका सञ्चालन प्रदीप शारडा सस्तो भन्सार दरमा आयात हुने कच्चासँग यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न असहज भइरहेको बताउनुहुन्छ ।
नेपालमा सिओटुको बिक्री प्रतिकिलोग्राम २२ देखि २५ रुपियाँ रहेको छ । भारतबाट आयात गर्नेले न्यून बीजकीकरणमा प्रतिकेजी पाँच रुपियाँमा ल्याउने गरेको उद्योगी शारडा बताउनुहुन्छ । यसको न्यून बीजकीकरण हुनुको कारण हो, भन्सार विभागले सिओटुको सन्दर्भ मूल्यसूचीमा समावेश गरेको छैन । त्यसैको फाइदा आयातकर्ताले उठाउँदै आएका हुन् ।
नेपालमा वार्षिक ६० लाख किलो सिओटुको खपत रहेको सङ्घका अध्यक्ष राठीले जानकारी दिनुभयो । यसको नेपाली उत्पादन अहिले २२ लाख किलोग्राम छ, जुन प्रिमियरले गर्दै आएको छ । भारतबाट वार्षिक ४० लाख किलो सिओटु आपूर्ति हुँदै आएको छ ।
आयात हुने सिओटुमा भन्सार दर बढाइदिने हो भने नेपालका अन्य मदिरा उद्योगसमेत यसको उत्पादन गर्ने युनिट लगाउन तयार हुने तर्क उद्योगी शारडाको छ । भन्सार विभागले यसलाई सन्दर्भ मूल्यसूचीमा समावेश मात्रै गर्ने हो भने तत्कालै अन्य दुई वटा मदिरा उद्योगले सिओटु उत्पादन गर्ने युनिट थप गर्ने सम्भावना प्रचुर रहेको बताइन्छ ।
“सिओटु हल्का पेय पदार्थमा आउने फिँज हो,” उद्योगी शारडाले भन्नुभयो, “मदिरा उद्योगका लागि बाइप्रोडक्ट भए पनि बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी ड्रिङ्कका लागि कच्चा पदार्थ हुन्छ । सोडा उत्पादन गर्नेका लागि पनि यो कच्चा मानिन्छ । सादा पानीमा सिओटु मिश्रण गरेपछि सोडा बन्ने गरेको छ ।”