• ६ वैशाख २०८१, बिहिबार

कोभिडअघिकै लयमा श्रम स्वीकृति : एक वर्षमै चार गुणा बढे

blog

काठमाडौँ, असार ११ गते । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य बढेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात् जेठसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब चार गुणाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ को ११ महिनामा एक लाख ४६ हजार ४० जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमै स्वीकृति लिनेको सङ्ख्या करिब चार गुणाले बढेको हो । जेठमा मात्रै ७२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । 

आर्थिक वर्ष २०७६/७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालमा २०७६ चैत ११ गतेदेखि  कोभिड–१९ का कारण बन्दाबन्दी (लकडाउन) गरिएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिएका र बिदामा आएर फर्किन लागेका सबै रोकिएका थिए । विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताले श्रम स्वीकृति लिनेको सङ्ख्या अत्यधिक बढेको हो । पछिल्लो तथ्याङ्कअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या कोभिड अगाडिको अर्थात् आव २०७५/७६ को अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

“चालू आवको पहिलो ११ महिनामा श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या आव २०७५/७६ को पूरै वर्षको भन्दा बढी पुगेको छ,” उहाँले भन्नुभयो । आर्थिक वर्षको दुई महिना बाँकी रहेकाले यो सङ्ख्या छ लाख नाघ्ने उहाँको अनुमान छ । विगत तीन आर्थिक वर्षमा प्रमुख सात श्रम गन्तव्य कतार, संयुक्त अरब इमिरेटस् (यूएई), मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेको भए पनि हाल ती देशमा जानेको सङ्ख्या बढेको देखिएको छ । वैदेशिक रोजगारीमा जाने समग्र युवालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा शतप्रतिशत वृद्धि भएको छ ।

कोरोना सङ्क्रमणअघि मासिक ४० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा चालू आवको औसतमा करिब ५२ हजार रहेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको हो ।