रामकृष्ण बोहरा
बागलुङ, भदौ ७ गते । पशुजन्य उत्पादनमा लगानी बढाएपछि बागलुङ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । दूध, अण्डा र मासु उत्पादन पर्याप्त बनाउँदै विदेश निर्यातका लागि बागलुङ सम्भावित क्षेत्र भएकोले घरदैलो गरेर किसानलाई उत्पादन बढाउन पशु प्राविधिकहरुले आग्रह गर्दै आएका छन् ।
दूध, अण्डा र मासु उत्पादन जिल्ला बाहिर बिक्री समेत भएको छ । प्रतिव्यक्ति वार्षिक ९१ लीटरका दरले दुई करोड २७ लाख लिटर दूध चाहिनेमा दुई करोड ३२ लाख लिटर उत्पादन भइसकेको छ । मासुतर्फ ३६ लाख केजी आवस्यक पर्नेमा गतवर्ष ३७ लाख ४७ हजार केजी उत्पादन भइरहेको छ । वार्षिक एक करोड १७ लाख गोटा उत्पादन भइरहेको अण्डा जनसङ्ख्याको अनुपातमा पर्याप्त भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो ।
सुख्खा समयमा दूध उत्पादन कम हुँदा पोखरा लगायतका स्थानबाट आउने गरेको छ । ‘‘वर्षातमा पनि केही दूध पोखराबाट आउने गर्छ भने केही दूध बागलुङबाट पर्वत, गुल्मी लगायतको स्थानमा पनि बिक्री हुने गरेको छ’’ डा. सापकोटाले भन्नुभयो, ‘‘पर्वतका किसानले बागलुङमा दूध बेच्छन्, चाडपर्वमा दूध अझै पर्याप्त भइसकेको छैन ।’’
पर्याप्त दूध उत्पादन गर्न सकेमा छुर्पी, चिज र घिउ तथा पनिर लगायतका उत्पादन गरेर बजारको आवस्यकता पुरा गर्न सकिने डा. सापकोटाले योजना सुनाउनुभयो । त्यसका लागि पशुपालनमा लगानी बढाउने लक्ष्य रहेको सापकोटाको भनाइ छ ।
मासुमा आत्मनिर्भर मात्र नभई विज्ञ केन्द्रले सरकारी योजना अनुसार मासु निर्यातका लागि रोग फ्रि पशु उत्पादनमा पनि जोड दिएको छ । नेपाल सरकारले चीनमा मासु निर्यात गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार रोग फ्रि भएको जिल्लाको पशु बध गरेर मात्र मासु निर्यात गरिने व्यवस्था छ । पछिल्लो चारपाँच वर्षदेखि बागलुङमा कुनैपनि रोग नदेखिएकाले निर्यातयोग्य पशु रहेको सापकोटाले बताउनुभयो ।
पशुलाई स्वस्थ्य राख्नका लागि सरकारले पशुमा पूर्ण खोप अभियान समेत चलाएको छ । बागलुङमा पिपिआर एक लाख ११ हजारसहित पशुमा पाँच प्रकारका १० लाखभन्दा बढी खोप लगाइएको छ । ‘‘आवस्यकताको आधारमा पशुलाई खोप लगाइएको हो । ढोरपाटनको बुकी पाटनका भेडामा खोपको मात्रा नपुगेकोले आगामी वर्ष प्रभावकारी रुपमा खोप अभियान चलाइने गरी केन्द्रले कार्यक्रम बनाएको छ’’ डा. सापकोटाले भन्नुभयो ।
विज्ञ केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा गाई ३० हजार ६ सय ३१, ७० हजार चार सय ४९ भैँसी, एक लाख ४९ हजार बाख्रा र १० हजार नौ सय भेडा छन् । बंगुर हाल थोरै छन् । आठ हजार एक सय ८५ बंगुरको तथ्याङ्क रहेकोमा चालु वर्ष बढ्ने सङ्केत छ । माछा पालनको क्रम बढ्दा बागलुङमा १६ लाख माछापालन भएको तथ्याङ्क छ । पशु स्वास्थ्यका लागि स्वास्थ्य शिविर, जुनोटिक रोक नियन्त्रण, गाईभैँसीमा थुनेला परीक्षण तथा उपचार, पशु प्रजनन् तथा नश्ल सुधार र कृतिम गर्भाधानको कार्यक्रम बनाइएको छ ।