• ७ भदौ २०८२, शनिबार
blog

जयपृथ्वीबहादुर सिंहको विश्व शान्ति र मानवतावादको दृढ मौलिक धारणाका अगाडि ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरले सुम्पिएका पद र मानपदवीले कुनै अर्थ राखेनन् । २४ वर्षको उमेरमा गोरखापत्रको व्यवस्थापक, ब्रिटिस भारतका लागि कन्सुलर जनरल, भारदारी अड्डाको प्रमुख जस्ता राणाशासनले दिएका मान पदवीले उनको मानवतावादको अवधारणाको गतिलाई रोक्न सकेन । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरीपट्टिका नाति र प्रधानमन्त्री चन्द्रशमशेरका छोरीज्वाइँ भएकाले राणाशासकको जीवनशैली एवं सत्ताको लडाइँलाई नजिकबाट देखेका र बझाङ जस्तो विकट क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक अवस्था पनि उनले राम्ररी बुझेका थिए ।

राणा शासनको विरोध

पहिलो विश्वयुद्धमा नेपाल सहभागी हुनुहुँदैन भन्ने मत राखेका उनले एकतन्त्रीय, जनविरोधी, अङ्ग्रे्रजपरस्त राणाशासनको चक्रमा पिसिएर नेपालमा परिवर्तन सम्भव नदेखेर भारतमा बसी नेपालको एकतन्त्रीय शासन व्यवस्थाविरुद्ध योगदान पुर्‍याएका थिए । जयपृथ्वीले आफूलाई विसं १९९६ मा सँगै लिएर कलकत्ताको कालीघाट गएको र त्यहाँ दशरथ चन्द, महेन्द्रविक्रम शाह र धर्मभक्तसँग भेट गराई मलाई पनि सँगै काम गर्न भनेका थिए भने झापा, भद्रपुरका रणकेशर बुढाथोकीको भनाइ रफाजले प्रकाशित गरेको शान्तिका उपाय पुस्तकमा लेखिएको छ । 

जयपृथ्वीसँग बाबुराम आचार्य जीवनभर सँगै बसेका थिए र उनको सम्पूर्ण व्यवस्था जयपृथ्वीले नै गरिदिएका थिए । जयपृथ्वीका विद्यार्थी एवं शिष्य नेपालका इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो ‘नेपाली शिक्षाको इतिहास’ मा लेखेका छन्, “राजा जयपृथ्वीबहादुर सिंहले छपाइ राखेका पाठ्यपुस्तकमध्ये एउटा जापानको उत्थानको वृत्तान्त लेख्दा..चन्द्रशमशेर झसङ्ग भए । जापानका शोगुन जस्तै आफू रहेका हुनाले विद्यार्थीलाई भड्काएर क्रान्ति मचाउने उद्देश्यले यो पुस्तक लेखिएको रहेछ भन्ने तर्कना गरी रोष प्रकट गरे ... ।” राणा प्रधानमन्त्री चन्द्रशमशेरले झस्कनुपर्ने त्यसताकाको अवस्था नै थियो । किनभने त्यसै बेला रुसमा लेनिन र भारतमा गान्धी जयपृथ्वीका समकालीन थिए । बेलायती उपनिवेशको जगजगी थियो । 

मानवतावादको अवधारणा र विश्व भ्रमण

सन् १९२८ मा ‘पिस एन्ड युनिटी प्रोपोगन्डा ब्युरो’ गठन गरेर सन् १९२९ सेप्टेम्बरदेखि सन् १९३८ सम्म ‘दी फ्लेग अफ पिस’ को नारा बोकेर उनले १० वर्षसम्म विश्व भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुक नेपालको दौत्य सम्बन्ध स्थापना भइनसकेको अवस्थामा जयपृथ्वीले अमेरिका, जापान, चीन, स्विट्जरल्यान्ड, जर्मनी, चेकोस्लोभाकिया, अस्ट्रिया, हङ्गेरी, रोमानिया, पोल्यान्ड, फ्रान्स इटली, अविसिनिया, श्रीलङ्का, बर्मालगायतका मुलुकको भ्रमण गरी ती मुलुकका विभिन्न सहरमा आफूद्वारा प्रतिपादित ‘मानवतावाद’ दर्शनबारे प्रवचन दिएका थिए । जयपृथ्वीको यस प्रयासले जनस्तरबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उल्लेख्य योगदान पुगेको पाइन्छ । युद्धरत मुलुकका पीडित पक्षलाई उद्धार र आक्रामक पक्षलाई मानवता सम्झाउन विश्वशान्तिका लागि मानवतावाद भनेको त्यो सिद्धान्त हो जुन प्रत्येक व्यक्तिले पशुभन्दा पृथक् भई धर्मको रूपमा नभएर कर्तव्यको रूपमा अनुसरण गर्नु पर्छ । 

शैक्षिक क्षेत्रमा योगदान 

जयपृथ्वीले काठमाडौँ, बझाङ र बर्मा मेमियोमा सत्यवादी पाठशाला स्थापना गरेका थिए भने अक्षराङ्ग शिक्षा, श्रेस्ता दर्पण, शिक्षा दर्पण, पदार्थतत्व विवेक, व्यवहारमाला, भूगोल विद्या, प्राकृत व्याकरण, जपानको इतिहास र तत्वप्रशंसा नामक पुस्तक प्रकाशन गरेका थिए ।

आर्थिक सामाजिक योगदान 

 बझाङमा छाला प्रशोधन, तामा, फलाम तथा ढलोट, नेपाली हाते कागज, घरेलु कपडा र सिलाइ उद्योग स्थापना गरेका थिए । फलाम खानी, तामा खानी, हाते कागज उद्योग, काँचो छाला प्रशोधन, जुत्ता कारखाना, कपडा उद्योग, सिलाइ उद्योग, जडीबुटी प्रशोधन जस्ता उद्योगहरूको बझाङभर विस्तार गरेका थिए । बझाङमा छुट्टै न्यायालय खडा गरी कानुन निर्माण गरेर अन्याायका विरुद्ध न्यायालय जान दैलो–दैलोमा सूचना टाँस्न लगाउनुका साथै अक्षर पढ्न सक्नेको घुम्ती टोली पठाई सूचना पढ्न लगाएका थिए । बझाङमै खग आयुर्वेद औषधालय स्थापना गरेका थिए । यस्तै कलकत्ताबाट फर्कंदा उनले गोरखापत्रका लागि हाते प्रेस ल्याएका थिए । 

विसं १९६७ मा उनले बझाङमा क्रान्तिकारी भूमिसुधार व्यवस्था लागु गरी बझाङका राजारजौटाका नाममा दर्ता रही आएका जग्गामा मोहियानी हक दिलाई सर्वसाधारण नागरिकका नाममा जग्गा दर्ता गराएका थिए । विसं १९६७ देखि १९६८ सम्ममा जयपृथ्वीले बझाङबाट डा“से–फडिल्ले डडेलधुरा हु“दै भारतको टनकपुर, बझाङबाट बित्थड बैतडी हु“दै भारतको झुलाघाट, बझाङबाट बाजुरा हु“दै जुम्ला, चैनपुर बझाङबाट मानसरोवर तिब्बतसम्मको घोरेटा बाटा र धर्मशाला निर्माण गरेका थिए । विसं १९६५ मा जयपृथ्वी गोरखापत्रका प्रमुख सम्पादकका हैसियतले बेलायत गएका थिए । जयपृथ्वीको प्रतिभाबाट प्रभावित भई बेलायतका सम्राट् सप्तम एडवर्डबाट उनले मानार्थ कर्नेल उपाधि पनि पाएका थिए । 

जयपृथ्वी पास 

विसं १९६४ मा जयपृथ्वीलाई भारदारी अड्डा प्रमुख बनाइयो र न्याय हेर्ने सम्पूर्ण जिम्मेवारी पनि सुम्पियो । उनका विचारलाई चन्द्रशमशेरले सहजै लिएका थिएनन् । जयपृथ्वीको उच्च बौद्धिकता, देश र नागरिकप्रतिको हेराइले गर्दा चन्द्रशमशेर पनि प्रभावित नभई रहन सकेनन् । यही प्रभावका कारणले जिम्मेवारी सुम्पिएर जयपृथ्वी पासको व्यवस्था गरियो । त्यसैले त्यसताका कसैले पनि सरकारी नोकरीमा काम गर्न जयपृथ्वीबाट पास लिनुपथ्र्यो । जुन पदलाई पछि प्रधानन्यायाधीश भन्ने पद सिर्जना गरिएको हो । यो उनीप्रतिको निगाह र दया नभएर यिनको बौद्धिक क्षमताको कदर थियो । 

विश्व भ्रातृत्व र शान्तिप्रतिको आफ्नो विचार संसारभर फैलाउन दक्षिण भारतको गङ्गाधर चेट्टी रोड बैङ्गलोरमा सन् १९२७ मा ‘जय भवन’ निर्माण गरे भने सन् १९२८ मार्च ८ बिहीबारका दिन ‘ह्युमानिस्टिक क्लब’ को उद्घाटन गरे । सन् १९२८ सेप्टेम्बरमा मानवतावाद नामक अङ्ग्रेजीपुस्तक विमोचन गरे । यस्तै सन् १९२८ जुलाई मा ‘दी ह्युमानिस्ट’ मासिक अङ्ग्रेजी पत्रिका प्रकाशन गरे । सन् १९२८ मा पिस एन्ड युनिटी प्रोपगन्डा ब्युरो गठन गरेर सन् १९२९ सेप्टेम्बरदेखि सन् १९३८ सम्म विश्व भ्रमण गरेका थिए । मैसुरका तत्कालीन राजा जय साबराडे रावस“ग सम्बन्ध बढाई भारतको मैसुर राज्यको कुर्ग भन्ने ठाउँमा नेपालीको बस्ती बसाले । भारतको देहरादुन र नैनितालमा नेपाली भाषा स्कुल खोले । देहरादुन, नैनिताल र मेघालयबाट गोरखा–संसार, तरुण–गोरखा, हिमचुली र गोरखा–सेवक नामक नेपाली पत्रिकाहरू प्रकाशन गराएका थिए । उनले संसारका सबै मानिस एउटै परिवारका सदस्यका रूपमा र सबै देशले सहअस्तित्वको माध्यमद्वारा विश्वब्रह्माण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्वशान्ति सम्भव छ भन्ने कुरा बुझाउन एवं युद्धरत मुलुकका पीडित पक्षलाई उद्धार र आक्रामक पक्षलाई मानवता सम्झाउन विश्वशान्ति सञ्जाल खडा गरी विश्वव्यापी रूपमा शान्ति र मानवतावादी सङ्गठनहरू खोलेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम 

जयपृथ्वीको विश्व भ्रमणका दौरान विश्वसमुदायबिच एक आकर्षक र केन्द्रीय व्यक्तित्वका रूपमा प्रतिष्ठित थिए भन्ने कुरा तत्कालीन अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सम्प्रेषण गरेका केही अंश शान्तिका उपाय नामक पुस्तक समेटिएको पाइन्छ । संयुक्त राज्य अमेरिकाको ‘न्युयोर्क टाइम्स’ ले लेखेको छ– ‘सिकागोमा २७ अगस्तका दिन उद्घाटन हुने विश्व आस्था मैत्रीसम्मेलनमा सम्बोधन गर्ने विभिन्न व्यक्तिमा एक जना नेपालका जयपृथ्वीबहादुर सिंह, जो सबैभन्दा आकर्षणका व्यक्ति हुने छन् । उनी भूतपूर्व राष्ट्रपति हवर्ट हुवर, न्युटन डी. बेकर तथा प्रोफेसर जोन देवेले आयोजना गरेको सम्मेलनमा भाग लिन यस न्युयोर्क सहरमा आइपुगेका छन्... ।’

हेराल्ड सिकागोले लेखेको छ ब्रिटिस इन्डिया र तिब्बतकाबिच हिमालको दक्षिण मोहडामा अवस्थित नेपालका राज्यमध्ये बझाङ राज्यका राजा जयपृथ्वीले १९१४ मा आफूलाई परित्याग गरी मानवतावादको प्रचारका लागि विश्व भ्रमण गर्दै न्युयोर्क आउनु भएको छ... । यस्तै अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने ‘इभिनिङ जर्नल’ ले लेखेको छ– “जयपृथ्वीबहादुर सिंह धर्मालम्बी होइनन् तर उनको आफ्नै एउटा दर्शन छ, जसलाई उनी मानवतावाद भन्दछन् । मानिस सबै एउटै हुन् भन्ने मत उनले राखे । उनले विश्व आस्थामैत्री संसद्सामु दिएको प्रवचनले विश्वआस्था मैत्रीसङ्घलाई जन्म दिएको छ ।’ 

‘जापान टाइम्स’ ले लेखेको छ–‘विशिष्ट चरित्र भएका जयपृथ्वीबहादुर सिंह जापानको भ्रमणका लागि टोकियो आइपुगेका छन् । यिनी एउटा दार्शनिक र लेखक हुन् ।’ ‘दी नर्थ चाइना डेली न्युज’ ले लेखेको छ, ‘हाल साङ्घाईको भ्रमणमा आउनुभएका जेपीबहादुर सिंहका विचारको प्रत्यक्ष नतिजाबाट अमेरिकाको सिकागोमा गत ग्रिष्ममा आयोजना गरिएको विश्वआस्था मैत्रीसम्मेलनले विश्वव्यापी शान्तिद्वारा व्यक्तिगत सुरक्षा कायम राख्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय विश्वआस्था मैत्रीसङ्घ’ को स्थापना भएको छ ।’ ‘चाइना प्रेस’ ले प्रकाशित गरेको छ–‘जयपृथ्वीबहादुर सिंहले साङ्घाईमा एउटा सारगर्भित भाषण दिए, जसमा उनले विभिन्न राष्ट्रबिच शान्ति र सुरक्षा प्रवर्धन गर्न विश्वमा नै एउटा आन्दोलन चलाउनुपर्ने कुराको सशक्त वकालत गरे...।’

‘दी साङ्घाई टाइम्स’ ले लेखेको छ– यस्तो लाग्छ, राजा जेपीबहादुर सिंह चीनका सामयिक यात्री हुन, जसले विश्व शान्ति प्राप्तिका लागि आपूmलाई समर्पित गर्न आफ्ना पद र सुविधाहरू परित्याग गरेका छन् । शिकागोमा कैयौँ राष्ट्रका प्रतिनिधिको विशाल सभालाई सम्बोधन गर्दा राजाले विश्व शान्तिको शिष्यको रूपमा महत्वपूर्ण सम्मान हासिल गरे ।’ ‘दी सिलोन अवजर्भर’ ले लेखेको छ, ‘राजगद्दी परित्यागपश्चात् राजा जेपीबहादुर सिंहले विश्वका दुःखको बारेमा सोचेका थिए र ती विचारलाई उनले कागजमा उतारे, जसले ‘ह्युमानिज्म’ नामक पुस्तकका ठेलीको रूप लियो । यी पुस्तकहरूमा उनले मानव जीवनका सम्पूर्ण पक्षलाई समेट्ने दर्शन घुसाएका छन् ।’

टाइम्स अफ इन्डिया बम्बईले लेखेको छ, ‘ह्युमानिस्टिक क्लब बैङ्गलोरका संस्थापक अध्यक्ष तथा नेपालका राजा जयपृथ्वीबहादुर सिंहले त्यस संस्थाको लामो अवधिभर भएको सम्मेलनको प्रकृति र कार्यमाथि प्रकाश पारे । उनले भन्ने कि त्यो सम्मेलनमा सबै राष्ट्र तथा मुलुककाबिच सद्भावना र एकताको भावनाको विकास गर्नुपर्ने आवश्यकता तथा मानवीय कष्टहरूको निवारण गर्नुपर्ने अनिवार्यता जस्ता विविध विषयमाथि छलफल गरियो ।’ उनको मृत्युबारे भारतीय पत्रिका ‘हिन्दुको मद्रास संस्करणमा ‘दी डिमाइस अफ सेकेन्ड गौतम बुद्ध’ शीर्षकको समाचार प्रकाशन भएको थियो । 

दर्शन भन्नु मानिसलाई साधारणबाट विशिष्टतामा पु¥याउने एक शिक्षा हो, जसले तर्कसङ्गत अध्ययन गरी मानव समाजको हितका निम्ति जीवन र जगत्को विश्लेषण गर्छ । त्यसैले दर्शन मानिसको चिन्तन, व्यवहार, गतिविधि तथा समग्र जीवनका बारेमा अध्ययन गर्ने–गराउने शास्त्र भएकाले मानवतावादी जयपृथ्वीले मानवतावाद नेपाली माटोभित्रै खोजे । नेपाली गाउँबस्तीभित्रै खोजे । नेपाली झुप्रा–झुपडी र महलभित्रै खोजे । नेपाली नाङ्गा र भोका अनुहारभित्रै खोजे । नेपाली आमाको मौलिक रूपभित्रै खोजे र मानवमात्रको अन्तर्मनमा आफ्नो दर्शनलाई खोजेका थिए । उनको यो कार्य तत्कालीन नेपाली समाजका लागि मात्र नभई विश्व समाजका लागि नै अभूतपूर्व र चामत्कारिक थियो । परिवर्तनकारीका लागि न पद चाहिन्छ, न राज्यसत्ता नै भन्ने कुरामा उनको विश्वास थियो । उनले आफ्नो उमेर, अनुभव र अध्ययनको परिपक्वतास“गै मानवतावादी दृष्टिकोण बनाएर विश्वशान्ति अभियानमा जुटेका थिए । 

निःसन्तान ६३ वर्षको जीवन व्यतीत गरेका यी महापुरुष तथा राष्ट्रिय विभूतिद्वारा आफैँ लेखिएको आत्मकथाको पाण्डुलिपिको खोजी गर्न सकेमा थप जानकारी प्राप्त हुन सक्ने छ । उनको नामको अर्धकदको सालिक गोरखापत्र संस्थान प्रधान कार्यालय, काठमाडौँ परिसरमा स्थापना गरिएको छ भने जयपृथ्वी उत्कृष्ट कर्मचारी पुरस्कार पनि हरेक वर्ष प्रदान हुँदै आएको छ । रसिया भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वी र नेपाल भ्रमण गर्ने पहिलो रसियन इभान मिनायभको नामबाट जयपृथ्वी–इभान मिनायभ पुरस्कार पनि मस्कोबाट प्रदान हुँदै आएको छ । राफाज र ह्युम्यानिज्म तथा जयपृथ्वीबहादुर फाउन्डेसन नाम संस्थाहरूले काम गरिरहेका छन् भने गोरखापत्र संस्थानले पनि यस विषयमा थप अनुसन्धान गर्नु आवश्यक देखिन्छ । नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ असार ६ गते बसेको बैठकबाट जयपृथ्वीबहादुर सिंहलाई १८ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं १९३४ भदौ ७ गते जन्मेका महापुरुषको विसं १९९७ असोज १ गते देहान्त भएको थियो । 


Author

तारा बस्याल