• ७ भदौ २०८२, शनिबार

तीन नयाँ चलचित्रको भिडन्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ७ गते । देशैभरका चलचित्र घरमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘ताराहरू’, ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन् । 

आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ मा किशोर मनोविज्ञानलाई उजागर गर्दै उनीहरूको मानसिक स्वास्थ्यको कथा पस्कन खोजिएको छ । चलचित्रले मृत्यु कल्पेर हिँडेको युवकले एक अधबैँसे महिला भेटेपछि उनको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई देखाउन खोजेको छ । चलचित्रले गलत निर्णयका कारण जीवनमा ल्याउने उथलपुथल र मित्रताले देखाउने सही मार्गलाई मूल कथा बनाएको छ । चलचित्रमा निर्देशक शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाल, कबिर काफ्कालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता गोपिनी सेढाईं र कृष्णप्रसाद पङ्गेनी हुनुहुन्छ । चलचित्रले हलहरूमा ३० सो पाएको छ ।  

चलचित्र ‘माग्ने राजा’ एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि ऊमाथि आइपर्ने अनेकन समस्या र उतारचढावको कथा हो । एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रमा ‘माग्ने बुढा’ को उपनामले चिनिएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा देखिनुभएको छ । माग्ने राजामा अन्य कलाकारमा वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङदेल जस्ता कलाकारको पनि अभिनय छ भने आर्यन सिग्देल विशेष भूमिकामा देखिनुभएको छ । चलचित्रका लेखक सामीप्यराज तिमिल्सेना हुनुहुन्छ । चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्नुभएको हो । हलहरुमा ‘माग्ने राजा’ ले देशव्यापी रूपमा १४४ सो पाएको छ ।

यसै गरी चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ अभिनेता बरालकै जीवनमा आउने उतारचढावको कथा हो । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले सहरिया जीवनको यथार्थ र सम्बन्धको जटिलतालाई पर्दामा देखाउने छ । फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले कुल ११० सो पाएको छ ।