• १२ वैशाख २०८१, बुधबार

बजेटमा स्थानीय आवश्यकतालाई प्राथमिकता

blog

सैनामैना नगरपालिका उपप्रमुख विना राना बजेट प्रस्तुत गर्नुहुँदै ।तस्बिर : छविलाल पाण्डे 

लुम्बिनी ब्युरो

लुुम्बिनी, असार ११ गते । लुम्बिनी प्रदेशअन्तर्गत विभिन्न पालिकाले स्थानीय स्तरको आवश्यकता र महìवलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । यहाँका अधिकांश पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेका छन् । स्थानीय तह निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता तथा निर्णयहरू कार्यान्वयनका लागि पालिकाहरूले बजेट विनियोजन गरेका छन् । 

तुलसीपुर समाचारदाताका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले कार्यालय सञ्चालनतर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार बजेट विनियोजन गर्नुभएको छ । विकास र सशक्तीकरणअन्तर्गत ससर्तका कार्यक्रमतर्फ एक अर्ब ३७ करोड ९७ लाख ७९ हजार बजेट छुट्याइएको छ ।

  बजेटमा शिक्षातर्फ सामुदायिक विद्यालयहरूमा आधारभूत तहसम्म पूर्ण रूपमा निःशुल्क, एक शिक्षक एक ल्यापटप, स्थानीय पाठ्यक्रम निर्माणमा बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ छात्राका लागि सेनेटरी प्याड वितरणअन्तर्गत ७० लाख ६७ हजार बजेट विनियोजन गरिएको छ । 

त्यस्तै १५ श-याको भीमसेन मेट्रो अस्पताल सञ्चालन र मोतियाबिन्दुमुक्त नगर निर्माणका लागि बजेट विनियोजन गरिएको छ । एक विद्यालय एक खेल प्रशिक्षकको व्यवस्थापन र खेल पूर्वाधारका लागि बजेट व्यवस्था गरिएको छ । स्मार्ट छोरी कार्यक्रमअन्तर्गत छोरीको बैङ्क खातामा रकम जम्मा गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

घोराही समाचारदाताका अनुसार घोराही उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९/८० का लागि दुई अर्र्ब ३२ करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख हुमा डीसीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

नयाँ बजेट चालू आर्थिक वर्षको भन्दा करिब १२ करोड बढी छ । चालू आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब २० करोड २८ लाख ७८ हजार विनियोजन गरिएको थियो ।  विनियोजित बजेटको चालूतर्फ एक अर्ब २५ करोड ४१ लाख छ जुन ५३.८५ प्रतिशत हो  । पुँजीगततर्फ एक अर्ब सात करोड ४९ करोड १० हजार छ जुन बजेटको ४६.१५ प्रतिशत हो । विनियोजित बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ७४ करोड दुई लाखमध्ये १० करोड ३० लाख अर्थात् १३.९२ प्रतिशत पुँजीगत खर्च र ६३ करोड ७२ लाख अर्थात् ८६.० प्रतिशत चालूतर्फ रहेको छ । 

रामग्राम समाचारदाताका अनुसार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिकाले १२औँ गाउँ सभामार्फत कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७९।७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँ सभामा ‘किसानको उन्नति, प्रतापपुरवासीको प्रगति’ र ‘हाम्रो इच्छा, प्रतापपुरमा प्राविधियुक्त बहुआयामिक शिक्षा’ भन्ने मूल नाराका साथ पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो  । 

कृषि व्यवस्था प्रणालीलाई व्यवसायीकरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकालाई केरा पकेट क्षेत्रका रूपमा विस्तार गर्दै केरा र उखुको बीउबिजन सहज तथा सुलभ ढङ्गले व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति लिइएको छ । 

कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचयपत्र उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । सबै सामुदायिक विद्यालयमा एक रूपता ल्याउन एउटै किसिमको रङरोगनको व्यवस्था गरिनेछ । १२ कक्षा उत्तीर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिने उल्लेख छ । १५ शøयाको अस्पताल निर्माणलाई निरन्तरता दिँदै आयुर्वेद औषधि उपचार र गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ । ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिनेछ । 

उद्योगतर्फ पाँच लाखभन्दा बढी लगानीको उद्योग स्थापना गर्ने उद्योगका लागि कर छुट, सानो पँुजीका उद्योग र लघु उद्यमीलाई अनुदानको व्यवस्था गरी लघु उद्यम कार्यक्रममार्फत एक सय ५० लघु उद्यमी तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सिद्धार्थनगर समाचारदाताका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा छात्रालाई सेनेटरी प्याड निःशुल्क वितरण गरिने उल्लेख छ । तिलोत्तमाले ‘विषादीमुक्त खानपान, तिलोत्तमाको पहिचान’ भन्ने अभियान थाल्ने भएको छ । नगर अस्पताल निर्माणदेखि सडकमा हिँड्ने बटुवालाई निःशुल्क खानेपानीको व्यवस्था गरिने भएको छ । 

त्यस्तै ज्येष्ठ नागरिकको सहज र सम्मानपूर्वक जीवनयापनका लागि हरेक वडामा तिलोत्तमा चौतारी निर्माण गरिने उल्लेख छ । ‘एक विद्यालय, एक पुस्तकालय तथा ई–लाइब्रेरी स्थापना गर्न सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरिने जनाइएको छ । 

तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएकोमा आगामी पाँच वर्षमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गरी सङ्घ र प्रदेशसँग समन्वयात्मक पहल गरिने भनिएको छ  । सामुदायिक विद्यालयमा विद्यार्थीका लागि यातायातको बढ्दो मागलाई ध्यानमा राखी प्राथमिकताको आधारमा विद्यालयहरूको साझेदारीमा आगामी आर्थिक वर्षमा कम्तीमा तीनवटा विद्यालयलाई बस खरिदका लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै ‘परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान’ अभियानअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार युवालाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सामूहिक तथा व्यावसायिक कार्यक्रमलाई प्रोत्साहन गरिने जनाइएको छ । बुटवल समाचारदाताका अनुसार रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब २१ करोड ८२ लाख २४ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक वर्ष २०७८÷७९ को भन्दा करिब ५० लाखले कम छ । 

सैनामैना नगरपालिकाले २०७८/७९ लागि एक अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपियाँको बजेट प्रस्तुत गरेको थियो । नगरपालिका उपप्रमुख विना रानाले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, कृषि, अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । सामुदायिक विद्यालयका छात्रालाई उपलब्ध हँुदै आएको निःशुल्क सेनेटरी प्याड अबदेखि संस्थागत विद्यालयका छात्रालाई पनि उपलब्ध गराउने, कक्षासम्मका विद्यार्थीलाई दिइँदै आएको खाजामा पाँच रुपियाँ थप गरिने, सिकाइ सामग्री तथा डिजिटल सामग्रीको व्यवस्था र स्थानीय पाठ्यक्रम निर्माण गर्ने विषयहरू बजेटमा समेटिएका छन् ।  कृषितर्फ ५० प्रतिशत अनुदानअन्तर्गत बीउ उपलब्ध गराउने, चिस्यान केन्द्रको निर्माण, कृषकलाई विशेष सहुलियत, गड्यौला मल उत्पादनलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

‘एक सय शøयाको ट्रमा सेन्टर निर्माण, सर्पदंश अस्पताल सञ्चालन, सैनामैना–१ को मुर्गियामा निर्माण भइरहेको १५ शøयाको अस्पताल सञ्चालनमा ल्याउने, सिमसार क्षेत्रको पहिचान गरी संरक्षण र विकास गर्ने, सीप विकासको माध्यमबाट सीमान्तकृत र अल्पसङ्ख्यक समुदायलाई रोजगारीमा जोड्ने कार्यक्रम बजेटमा समावेश छ । 

पाल्पा तानसेन समाचारदाताका अनुसार पाल्पाका १० वटै पालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् । तानसेन नगरपालिकाले एक अर्ब ३९ करोड रुपियाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरका उपप्रमुख प्रतीक्षा सिन्जालीले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम बनाएको जानकारी दिनुभयो । 

रामपुर नगरपालिकाले ७२ करोड, ४७ लाख ९५ हजार, निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख, रैनादेवी छहरा गाउँपालिकाले ६४ करोड ५९ लाख र माथागढीले ५७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । पूर्वखोलाले ४८ करोड १७ लाख ७४ हजार, रम्भाले ५० करोड २९ लाख ८३ हजार, तिनाउ ४८ करोड, २० लाख ९१ हजार, बगनासकाली ४७ करोड र रिब्दीकोटले ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट पेस गरेका छन् ।