इमान सिं राना
रामपुर (पाल्पा), असोज १४ गते । चाडपर्व नजिकिँदै गर्दा गोरेटो तथा सडक मर्मत र वरपरको झाडी सरसफाई लगायतका कार्य गर्ने प्रचलन अधिकांश स्थानमा हराउँदै गइरहेको छ । तर रामपुर नगरपालिका–४ का टोलहरुमा बेला टोल विकास संस्थाहरुले सडक तथा गोरेटो बाटोको मर्मत तथा सरसफाई गरेका छन् ।
दसैँ, तिहार लगाएतका पर्वहरुलाई लक्षित गरी टोल विकास संस्थाले स्थानीयको श्रमदान मार्फत गाउँटोल सम्म आवतजावत गर्ने सडक, गोरेटो तथा सार्वजनिक स्थलको मर्मत तथा सरसफाई गरेका हुन् । १२ वटा टोल विकास संस्था मार्फत मुख्य गोरेटो बाटो, सडक मर्मत संगै वरपरको झाडी सफाई गरिएको हो ।
पर्वहरुलाई लक्षित गरी गतवर्ष देखि टोल विकास संस्था मार्फत सडकको मर्मत तथा सरसफाईको कार्य गरिँदै आएको बाङ्गेपसल भिमसेन टोल विकास संस्थाका संयोजक धन बहादुर श्रेष्ठले बताउनुभयो । सडक दायाँबायाँको बोटविरुवा र झाडीका दुर्घटनाको जोखिम हुने भएकाले स्थानीयको सहभागीतामा झाडी हटाउने तथा बोट विरुवा छाट्ने गरिएको छ ।
रेवती पोखरा टोल विकास संस्थाका संयोजक विमल श्रेष्ठले आफ्नो क्षेत्रमा पुर्खौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार मुख्य गोरेटो र सडक आसपासको झाडी सफा गरिएको र ठूला समस्या भएका सडक डोजर प्रयोग गरेर सञ्चालन गरिएको बताउनुभयो ।
टोल विकास संस्था मार्फत पर्यटकिय स्थल तथा सार्वजनिक स्थलहरुको पनि सरसफाई गरिएको छ । व्यास बसपार्क टोल विकास संस्थाका अध्यक्ष अमिर बहादुर रानाले सडक तथा गोरेटो मर्मत संगै मठमन्दिर जाने बाटो र पर्यटकिय स्थल सरसफाई गरिएको बताउनुभयो ।
संगम टोल विकास संस्थाका सचिव विष्णु सेन ठकुरीले टोल भित्रको सरसफाई, कालीगण्डकी करिडोर असपासका सडकको खाल्डाखुल्डी पुर्ने, झाडी हटाउने र सडक नाली सफाई गरिएको बताउनुभयो ।
वडाले आग्रह अनुसार मुख्य बाटो तथा सडकको सामान्य मर्मत र झाडी सरसफाईमा टोल विकास संस्थाहरु सक्रियताका साथ लागेको वडा अध्यक्ष राम बहादुर रानाले जानकारी दिनुभयो ।
‘सडक मर्मतका लागि समस्या देखिएका स्थानमा टोल विकास संस्थाको समन्वयमा डोजर प्रयोग गरिएको छ,’ उहाँले भन्नुभयो । वडाभित्र सञ्चालन हुने विकास निर्माणका योजना तथा कार्यक्रमहरु टोल विकास संस्थाको सक्रियतामा सञ्चालन गर्दै आएको बताउनुभयो ।