• १४ असोज २०८२, मङ्गलबार

राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता

blog

नदीमा बेपत्ता बालकको खोजी गरेर फर्किएको शसस्त्र प्रहरीको गोताखोर टोली ।

सिराज खान

नेपालगन्ज, असोज १४ गते । आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका छन् । 

राप्तीसोनारी वडा ७ का वडा अध्यक्ष राम लखन थारुले दिनुभएको जानकारी अनुसार सैयापुरका प्रेम पुन आफ्नो छोरा भिम पुनसंगै राप्ती नदीको पिप्रहवा घाट नजिक सोमवार दिउँसो माछा मार्न गएको बेला प्रेमका छोरा भिम नदीमा डुबेर बेपत्ता भएका हुन् । 

माछा मार्ने क्रममा नदीमा पसेपछि छोरा एक्कासी डुबेर बेपत्ता भएको जानकारी पुनले गराउनु भएको जनाउँदै वडा अध्यक्ष थारुले त्यसयता खोजी कार्य भइरहेपनि भिमको अवस्था केही पत्ता नलागेको बताउनुभयो । 

प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको गोताखोर टोली शमसेरगन्जबाट आएको र सोमवार अबेर रातीसम्म खोजी गर्दा पनि केही पत्ता नलागेपछि उहाँहरु फर्किएको उहाँले बताउनुभयो । 

वडा अध्यक्ष थारुका अनुसार मंगलवार पनि स्थानीयले बिहानबाटै नदीको किनार किनार टाढासम्म पुगेर खोजी गरिरहेका छन् । 

दसैंको मुखमा छोरा नदीमा बगेर बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ । पुन परिवार मात्रै नभई सैयापुर गाउँनै शोकमग्न भएको छ ।