• ६ भदौ २०८२, शुक्रबार

गाईघाट–फत्तेपुर सडक कालोपत्रे गरिँदै

blog

गाईघाट–फत्तेपुर सडक अन्तर्गत त्रियुगा नगरपालिका–२, मोथियाहीस्थित सिमलगाछी क्षेत्रमा कालोपत्रे गरिँदैै । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता 

गाईघाट (उदयपुर), भदौ ६ गते  । जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ  । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । 

नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिई आशुतोष कर्णले बताउनुभयो । 

उच्च गुणस्तरको दुई लेनको अस्पाल कङ्व्रिmटको कालोपत्रे गर्ने गरी मैनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी अघिल्लै वर्षदेखि धमाधम काम गरिरहेको भए पनि त्यसका लागि आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा आपूmहरूलाई यसअघि काम गर्न आर्थिक सङ्कट आइपरेको निर्माण कम्पनी व्यवसायी मनिकुमार दाहालले बताउनुभयो । 

उहाँले अहिले भने रकमको कुनै समस्या नभएकाले निर्माणको काम अगाडि बढाइएको जानकारी दिनुभयो । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो उक्त सडक अन्तर्गत मोतीगढा–जोगीदह–रूपनीसम्मको करिब १२ किलोमिटर सडक अबको तीन महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने उहाँको भनाइ छ । 

गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको उक्त सडक निर्माणको काम तीव्र गतिमा भइरहेको अवस्थामा बजेट अभाव हुन नदिन सङ्घीय सरकारले भूमिका खेल्नुपर्ने त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । डिभिजन कार्यालय लहानका साइड इन्चार्ज इन्जिनियर सञ्जीव साहका अनुसार सडकको स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माणसहित सो क्षेत्रमा पर्ने पाँच वटा ठुला तथा १७ वटा साना गरी २२ वटा कलभर्ट बनाउनुपर्नेमा अहिलेसम्म ती सबै कलभर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत सडकसँग सम्बन्धित अन्य सबै स्ट्रक्चरका कामसमेत सम्पन्न गरेर करिब पाँच किलोमिटरसम्म कालोपत्रेको काम पनि सम्पन्न गरिएको छ । कुल लागत ४० करोड रुपियाँ अनुमान रहेको उक्त योजनामा सरकारले गत वर्ष साढे दुई करोड मात्र रकम दिएको थियो । त्यसबाट हुनुपर्ने जति सबै काममा खर्च भइसकेको तर थप बजेट सुनिश्चित नभएकाले तत्काल यो योजनालाई अर्थ मन्त्रालयले रकमको सुनिश्चित नगर्दा केही ढिलाइ भए पनि यस वर्ष बजेट अभाव नभएकाले निर्माण अगाडि बढाइएको उहाँले बताउनुभयो । 

यो सडक अन्तर्गत चुरेबाट बगेर आउने लोहाले, बबिया, कङ्ग र बाहुन्ना गरी चार वटा मुख्य खोला रहेको भए पनि ती खोलामा पक्की पुलका लागि नेपाल सरकारले हालसम्म कुनै योजना बनाएको छैन । डिभिजन सडक कार्यालय लहानका डिभिजन प्रमुख आशुतोष कर्णले पुलको डिजाइन सडक विभागको पुल महाशाखाले गर्ने भएकाले यस कार्यालयले पुल निर्माणसम्बन्धी कुनै योजना अगाडि बढाउन नमिल्ने बताउनुभयो ।