जीवछ यादव
लहान, भदौ ६ गते । उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ ।
नेपाली कांग्रेसको बौद्धिक उचाइ र चिन्तकको रुपमा चिनिनु भएको स्वर्गीय प्रदिप गिरीको तेस्रो स्मृतिसभालाई बिहीबार लहान नगरपालिकाको सभा हलमा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
देश र मधेशलाई असाध्यै माया गर्नु हुने प्रदिप गिरीको सपना साकार गर्न किसानको समस्या समाधान गर्न कृषि र खानेपानी मन्त्रालयसँग समन्वय गरेर मधेश प्रदेशमा देखिएको सुखाग्रस्त समस्या सदाका लागि समाधान गर्न दीर्घकालीन समाधानमा लागेको उहाँले बताउनुभयो ।
किसानलाई धान बालीमा सिँचाइ गर्न तत्काल विद्युत मोटर नै भरपर्दो विकल्प देखिएकाले विद्युत आपूर्ति २४ घण्टा नै हुनुपर्ने किसानको मागलाई ध्यानमा राखेर मधेश प्रदेशको विद्युत विभागलाई यस्तो निर्देशन दिइएको मन्त्री खड्काले स्पष्ट गर्नुभयो ।
‘‘वर्तमान सरकार शान्ति सुरक्षा र विकासलाई निरन्तरता दिनुको साथै स्थीरताका लागि जन भावना अनुसार गठन भएको सरकार २०८४ सम्म निरन्तर चल्नेछ । नेपाली कांग्रेस र नेकपा एमाले दुई जिम्मेबार पार्टीले देखिएका समस्या समाधान गर्न लागि परेको छ । सरकार ढल्ने हल्लाको पछि नलागेर सरकारले गरीरहेको जनपक्षीय कामको सरकारमा सहभागी दुबै दलका नेता कार्यकर्ताहरु जनतासम्म लैजान आवश्यक छ,’’ मन्त्री खडकाले ध्यान सचेत गारउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादव, लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य कृष्णा यादवले मधेशमा देखिएको सिँचाइ खानेपानी र चुरे विनासको समस्या समाधान गर्न मन्त्री खड्काको ध्यान आकर्षण गराउनु भएको थियो ।