• १६ चैत २०८०, शुक्रबार

काली–कर्णाली पदमार्ग

सुदूरको आर्थिक विकासमा कोसेढुङ्गा

blog

सुदूरपश्चिमका पर्यटकीय गन्तव्य स्थापित राष्ट्रिय गन्तव्यको सूचीमा केही वर्षअघि मात्र जोडिएका छन् । मुख्यतया शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुञ्जको विशेष चर्चाबाहेक महाकाली र कर्णाली नदी, घोडाघोडी ताल, अपि, सैपाल हिमाल र नौवटा जिल्लाका केही मन्दिर, ताल, तलैयामा पर्यटकीय गतिविधिको सम्भावनाबारे केही चासो हुने गरेको मात्र पाइन्छ । यसै सूचीमा थप पर्यटकीय गतिविधिसहित पर्यटन आकर्षित गर्न यस प्रदेशको तराई र चुरे क्षेत्रलाई समेट्ने गरी नयाँ पदमार्ग ‘सुदूरपश्चिमको काली–कर्णाली चुरे पदमार्ग’का धार्मिक, प्राकृतिक, जैविक सम्पदाको समिश्रण भएका गन्तव्य यहाँ प्रस्तावित गरिएका छन् । 

उष्ण हावापानी, तराईको समथर फाँटदेखि पहाडी भूभागसम्म विस्तारित भूगोल, बाक्लो उष्णप्रदेशीय वन क्षेत्र, प्रशस्त नदीनालाको बहाव क्षेत्र तथा छरिएर रहेका तालतलैया एवं सिमसार क्षेत्र र यसैका कारण यहाँ पाइने विभिन्न प्रजातिका जीव र वनस्पतिका कारण कैलाली र कञ्चनपुर जिल्ला जैविक विविधताका दृष्टिकोणले धनी छ । कैलाली र कञ्चनपुर जिल्लाको उत्तरी भूखण्ड चुरे पहाडको फेदीमा रहेका केही स्थानलाई समेटेर त्यहाँको धार्मिक, प्राकृतिक, जैविक सम्पदाको उच्चतम विकास गर्न सकिन्छ । स्थानीय गाउँमा होमस्टे, ईको लज आदि पूर्वाधार विकासमा लगानी ग¥यो भने पर्यटकीय गतिविधिको माध्यमद्वारा स्थानीय बासिन्दाको आर्थिक स्तर र रोजगारीका अवसर घरमै बढाउन सकिनेछ । 

यो पदयात्रा सुदूरपश्चिम क्षेत्रको चुरे फेदीमा प्रस्तावित रहेकाले पदयात्राका लागि नौलो एवं अविस्मरणीय हुनेछ । चुरे पदमार्गले सुदूरपश्चिम प्रदेशको पूर्व र पश्चिम क्षेत्रको प्रवेश स्थानलाई समेटेको छ । पर्यटक भारतबाट महेन्द्रनगर बजार हुँदै महाकालीको तीरमा रहेको ब्रह्मदेव बजारबाट प्रवेश गर्न सक्छन् । त्यस्तैै प्रदेशको पूर्वी प्रवेशद्वार कर्णाली नदीको तीरमा रहेको चिसापानी बजारबाट यस चुरे पदमार्गको पदयात्रा सुरु गर्न सकिनेछ ।

प्रस्तावित पदमार्ग कञ्चनपुर जिल्लाको महेन्द्रनगर, भासीचोक हँुदै ब्रह्मदेव बजार पुगी सिद्धनाथ बाबाको दर्शन गरी काली–कर्णाली चुरे पदमार्गको यात्रा सुरु गर्न सकिन्छ । नेपालको ब्रह्मदेव बजारसँगै जोडिएको टनकपुरको पुलबाट सिमापारि टनकपुर बजार हँुदै माथि पहाडी क्षेत्रमा पूर्णागिरि माताको मन्दिर छ । पूर्णागिरि माताको दर्शन गर्र्न बिहान गई बेलुकी नेपालमै फर्किन सकिन्छ । पूर्णागिरि माताको मन्दिर उत्तर भारतको एक प्रसिद्ध शक्ति पीठमध्येमा पर्छ । पूर्णागिरि माता र नेपालस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गरेपछि पूर्ण फल पाइन्छ भन्ने विश्वास छ । त्यसैले लाखौँ भारतीय तीर्थालु ब्रह्मदेव र महेन्द्रनगर बजार आउँछन् ।

रमणीय झिलमिला ताल अर्को आकर्षक केन्द्र हो । उक्त ताल वरपर विभिन्न जातिका चराको वासस्थान छ । झिलमिला तालको ७०० मिटर तलदेखि सिँढी चढी तालसम्म पुग्न सकिन्छ । झिलमिला तालपछि तीन कि.मि. दक्षिणपूर्वमा भम्का क्षेत्र आउँछ, जसलाई भम्केनीधाम भन्ने गरिन्छ । यहाँ सिद्धनाथ र बैजनाथका मन्दिर छन् । यस भम्केनीधाममा नेपाल माताको ७५ फिट अग्लो अष्टधातुको मूर्ति पनि बनेको छ । त्यसपछि तीन कि.मि. दक्षिणमा पुगिन्छ । विष्णु भगवान्को प्राचीन मन्दिरमा उत्खनन गर्दा प्राप्त भएका भगवान् विष्णु र लक्ष्मी माताका विभिन्न प्राचीन मूूर्ति सङ्कलन गरी मन्दिर, धर्मशाला र प्राकृतिक पोखरी बनाई धार्मिक स्थलको निर्माण भएको छ । त्यहाँ प्राचीन बैजनाथ मन्दिर छ । त्यसपछि चार कि.मि. पूर्व लागेपछि लिङ्गा धार्मिक स्थल आउँछ । उक्त स्थलमा शिवमन्दिर पनि रहेको छ । यस धार्मिक स्थलकोे दर्शनले मानवको सम्पूर्ण मनोकामना पूर्ण हुन्छन् भन्ने जनविश्वास छ । 

लिङ्गाधामपछि बेतकोट ताल आउँछ । प्राृकृतिक जङ्गलबीच पहाडमा सुन्दर बेतकोट ताल रहेको छ । वेदऋषिले ध्यान गरी बसेको ठाउँ रहेकाले यहाँस्थित तालको नाम वेदकोट रहन गएको हो । ताल किनारमा बैजनाथ भगवान्को प्राचीन मन्दिर छ । बेतकोट तालछेउबाट माथि भित्री मधेश जोडपुडा, पर्शुराम नगरपालिका हुँदै डडेल्धुरा जाने आउने पुरानो बाटो छ । यस पवित्र ताल वरपर विभिन्न प्रकारका वनस्पति र चराचुरुङ्गीको वासस्थान रहेकाले उक्त स्थान प्रसिद्ध पर्यटकीय स्थलका रूपमा स्थापित छ ।

हीरापुरपारि अर्जुनी नदी किनारमा वन समितिमाथि सङ्गम चोक हुँदै शुक्लाफाँटाको उत्तरी वन जङ्गल हेर्दै पिताम्बर, स्टेसनपुर हुँदै रमणीय मुर्डका ताल (सुनदेवीताल) र बैजनाथ मन्दिरको दर्शन गर्न सकिन्छ । आजभोलि पर्यटकीय दृिष्टकोणले बतासे झरना क्षेत्र अति रमणीय स्थलका रूपमा विकास भइरहेको छ । बतासे झरना क्षेत्रपछिको यात्रामा चुरेको फेदमा कञ्चनपुरको कृष्णपुर बाइसी समैजीको मन्दिर र औलानी गाउँ पर्छ । थारू जातिको बाहुल्य रहेको यी गाउँमा सांस्कृतिक गतिविधि, रहनसहन, खानपिनको आनन्द लिन सकिन्छ । औलानी कृष्णपुरसम्म कञ्चनपुरको क्षेत्र पर्र्दछ । त्यसपछि कैलालीको गोदावरी क्षेत्र आउँछ ।

यस पदमार्गमा कैलाली जिल्लाको उत्तरमा चुरे पर्वत शृङ्खलाअन्तर्गतको भावर भूभाग तथा दक्षिणी भेगमा समथर तराई फाँट रहेकाले पहाडी र तराई क्षेत्रको उचाइगत भिन्नताका कारण यहाँ फरक–फरक किसिमको हावापानी पाइन्छ । यस यात्रामा कञ्चनपुरको कृष्णपुर क्षेत्रपछि चुरेमा गोदावरी धार्मिक स्थल पर्दछ । त्यहाँ पवित्र गोदावरी नदी, तालतलैयासँंगै भगवान् 

शिवगङ्गाको मन्दिर रहेको छ । गोदावरी क्षेत्रमा जैविक वनस्पति पाइन्छ । यो क्षेत्रले परापूर्वकालदेखि नै धार्मिक महìव बोकेको मानिन्छ । भगवान् श्रीकृष्ण र पाण्डवले यस क्षेत्रको विचरण गरी यसै नदीमा स्नान गरी ज्ञानसमेत हासिल गरेको विश्वास गरिन्छ । यस क्षेत्रमा मकर सङ्क्रान्तिमा मेला लाग्छ । त्यहाँ विवाह व्रतबन्ध आदि 

कार्य पनि गरिन्छ । कैलाली जिल्लामा २३५ प्रजातिका फूलका साथै करिब २४४ किसिमका वनस्पति पाइन्छन् । करिब ३४ प्रकारका स्तनधारी, १४० प्रकारका चरा, २७ जातिका माछा र विभिन्न किसिमका उभय चर तथा सरीश्रृप पाइन्छन् । जिल्लाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको दूधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यहाँ विभिन्न किसिमका वन्यजन्तु आउने जाने भइरहन्छ । हिउँदमा साइबेरियाबाट समेत चरा यहाँ आएको पाइन्छ ।

कैलाली क्षेत्रको पदयात्रा गोदावरी धार्मिक स्थलबाट सुरु भई चौमाला, मसुरिया (कैलाली), गौरीगङ्गा नगरपालिकाको उत्तरी भूखण्ड हुँदै घोडाघोडीलगायत विभिन्न तालको मुहान क्षेत्रमा सिमथरी क्षेत्र पर्दछ । त्यही तालको क्षेत्रमा माघी होमस्टे पनि छ । घोडाघोडी ताल दुई हजार ५६३ हेक्टर क्षेत्रमा रहेको र अनुमानित चार मिटर गहिरा १३ वटा सानाठूला तालतलैया तथा सिमसार क्षेत्र पर्दछन् । घोडाघोडी ताल क्षेत्रमा ३८८ प्रकारका वनस्पति र विभिन्न वन्यजन्तुसहित १४० जातिका चराचुरुङ्गी हेर्न सकिन्छ । ताल वरपर विभिन्न गाउँ रहेकाले स्थानीय संस्कृतिसहित प्राकृतिक सम्पदा र वन्यजन्तुको अवलोकन गर्दै तराई र शिवालिक चुरे जोड्ने क्षेत्र हँुदै यो पदयात्रा अघि बढाउन सकिन्छ । सिमसार क्षेत्र, तालतलैया तथा पोखरीको दृष्टिकोणले कैलाली जिल्ला समृद्ध छ । घोडाघोडी ताल २०६० साउन २८ गते विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । जिल्लामा १९३ वटा तालतलैया छन् ।

घोडाघोडीको चुरे क्षेत्रपछि बर्दगोरिया क्षेत्रमा आउँछ । यस क्षेत्रबाट माथि सुदूरपश्चिमको पहाडी क्षेत्र खप्तड जाने सेती राजमार्गसँग जोडिन्छ । यो मार्ग मध्यपहाडी राजमार्गसँग जोडिएकाले आउने दिनमा छोटो समयमा तराईबाट पहाडी क्षेत्रका गन्तव्यमा पुग्ने मार्ग हुनसक्छ । लम्की चुहा नगरपालिका–१ बाट मोटर गाडीबाट मोहन्याल गाउँपालिका–७, राजकाँडाको फेदमा पुगिन्छ । मोहन्याल गाउँपालिकामा समैजी देवताको मन्दिर पनि रहेको छ । बर्दगोरिया क्षेत्रपछि चुरे गाउँपालिका हँुदै मोहन्याल गाउँपालिका आउँछ, त्यहीँबाट राजकाँडाको डाँडामा पुगिन्छ । राजकाँडाको डाँडाबाट हिमाल र कर्णालीपुलको मनमोहक दृश्य देख्न सकिन्छ । 

चिसापानी पुलदेखि दक्षिण भागमा टीकापुर पार्कसम्म मझौला आकारको मोटरबोटमा जलक्रीडा गर्न सकिने सम्भावना छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकोे अनुमति र स्थानीय सरकारको पहल र पर्यटन व्यवसायको लगानीमा चिसापानी पुलको वरिपरिको क्षेत्रमा थप पर्यटन व्यवसायको विकाससँगै रातिको समयमा चिसापानी पुलमा बिजुलीको सजावट गरी सीमित स्थानभित्र रेस्टुराँ र रिसोर्टलाई अनुमति दिई बिच टुरिजमको नयाँ अनुभूति दिने पर्यटकीय गतिविधि गर्न सकिने प्रचुर सम्भावना छ ।

विभिन्न तालतलैया जोड्दै, धार्मिक स्थलको भ्रमण गराउँदै झरना, पहाड, खोलानाला, वनजङ्गल घुमाउँदै स्थानीय जनजातिको गाउँ अवलोकनसँगै त्यहाँको खानपान, संस्कृति, नाचगान देखाउँदै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको अविस्मरणीय यात्राको नौलो अनुभव यस पदमार्गले दिनेछ । स्थानीय सरकार, प्रदेश सरकारको विशेष पहल र निजी क्षेत्रसँगै नेपाल पर्यटन बोर्डले यस प्रस्तावित सुदूरपश्चिमको काली–कर्णाली चुरे पदमार्गका धार्मिक, प्राकृतिक, जैविक सम्पदाको समिश्रण भएका गन्तव्य समेटी विशेष टुर प्याकेज बनाउन सक्छ । केही स्थानमा पूर्वाधार र जनशक्तिलाई तालिम दिने हो भने बढी समय नलिई तत्काल यस पदमार्गको केही खण्ड सुरु गरी यस परियोजनालाई नयाँ गन्तव्यका रूपमा पूर्णता दिन सकिन्छ ।

Author

हिकमतसिंह ऐर