• ४ जेठ २०८१, शुक्रबार

दमक नपाले अति विपन्नको ‘खाना, नाना र छाना’ को बन्दोबस्त गर्ने

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १० गते । झापाका स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेटमा कतिपय लोकप्रिय कार्यक्रमहरु समावेश गरेको छ । प्रत्यक्ष रुपमा नागरिकहरुसँग पुग्ने कार्यक्रमको रुपमा उनीहरुले यस्ता कार्यक्रमहरु ल्याएको हुन् । 

शुक्रबार दमक नगरपालिकाको नगर सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । नीति तथा कार्यक्रम र बजेटबारे बोल्दै दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले आर्थिक वर्ष २०७९÷०८० मा अति विपन्न कम्तीमा पनि ३ सय घरपरिवारलाई अत्य आवश्यकीय दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउने बताउनु भयो ।

अति विपन्नलाई खाना, नाना र छानाको बन्दोबस्त नगरपालिकाले गर्नेछ, नगर प्रमुख थापाले भन्नुभयो । नगरपालिकाले विपन्न पहिचान गरेअनुसार अति विपन्नलाई यो सुविधा उपलब्ध गराइने उहाँको भनाइ छ । विपन्न पहिचान कार्यविधि बनाएर नगरपालिकाले विपन्न पहिचान गरिसकेकाले सोही अनुसार ३ सय परिवारको आधारभूत आवश्यकता पूरा गर्ने नीति तथा कार्यक्रममा ल्याएका छाँै, थापाले भन्नुभयो  ।

विपन्न पहिचान कार्यविधिमा स्वास्थ्य बिमामा ५० प्रतिशत, नगर अस्पतालमा उपचारमा ५० प्रतिशत, राशन कार्ड व्यवस्था गरी दैनिक अत्यावश्यकीय खाद्य सामग्रीमा छुट दिने उल्लेख छ । यसका साथै अति विपन्नलाई नगरपालिकाबाट प्रदान गरिने सेवा तथा सिफारस शुल्कसमेत मिनाह दिने छ । 

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगरभित्रका १ हजार विपिन्न घर परिवारको स्वास्थ्य बिमा गर्नका लागि आवश्यक बजेट छुट्याइएको बताउनु भयो ।  अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘तपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गरिने छ, भट्टराईले बताउनु भयो । 

नगरपालिकाले एक घर, एक धारा÷ट्युवेल एक शौचालयको प्रवन्ध गर्ने पनि नीति तथा कार्यक्रममा आएको छ । भट्टराईले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दमक क्षेत्रभित्रका विपन्न परिवारलाई निशुल्क शव वाहनको व्यवस्था गर्ने समेत उल्लेख गर्नु भएको छ ।

यसैबीच, उपप्रमुख भट्टराईले आर्थिक वर्ष २०७९÷०८० का लागि एक अर्ब ६३ करोड ४० लाख ४० हजार बराबरको बजेट पनि प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा बिहिबार कार्यपालिकाका सदस्यहरुबीच विवाद भएको थियो ।