• १४ पुस २०८१, आइतबार

भरतपुर महानगरको २३ करोड रुपियाँले बढ्यो बजेट

blog

भरतपुर महानगरपालिकाको शुक्रबार जारी रहेको ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै महानगर प्रमुख रेनु दाहाल । तस्वीर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार १० गते । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि चालु आ.व.को भन्दा झण्डै २३ करोड रुपियाँ बढीको आयब्यय अनुमानित बजेट ल्याउने भएको हो ।

चालु आ.व.को लागि गत वर्षको नवौं नगरसभाबाट ५ अर्ब ५१ करोड ७३ लाख ८८ हजार रुपियाँको अनुमानित बजेट ल्याएको महानगरले यस पटक ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपियाँको अनुमानित बजेट ल्याउने भएको छ ।

सो बजेटका लागि आन्तरिक आय एक अर्ब ५० करोड हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्व ९२ करोड ११ लाख २९ हजार रुपियाँ, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार रुपियाँ, जनसहभागिताबाट ३७ करोड रुपियाँ, बैंक मौज्दात एक अर्व ३० करोड, मर्मत सम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड आम्दानी हुने प्रक्षेपित बजेटमा उल्लेख छ ।

अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित एक अर्व ४० करोड रहने प्रक्षेपण गरिएको रकमलाई भने अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको व्यवस्था गरिने बजेटमा व्यवस्था छ । 

२९ वडा रहेको महानगरले प्रत्येक वडाका लागि दुई करोड ५० लाखको दरले जम्मा ७२ करोड ५० लाख रुपियाँ विनियोजन गर्ने भएको छ । नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा हरियाली र शान्त महानगरका रुपमा विकास गर्न भरतपुर महानगरपालिकाको एकीकृत सहरी विकास गुरुयोजना तयार गरी ब्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइने उल्लेख छ । 

त्यसकालागि नीति तथा कार्यक्रममा परियोजना बैंककै स्थापना गरिने उल्लेख छ । महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेट तारलाई चरणवद्ध रुपमा भूमिगत गर्दै लगिने, महानगरपालिकाभित्र एक सडकमा एउटै रंग भएका भवन तथा एक सडक, एक विद्युत स्वीच जडानविधि कार्यान्वयन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर परिसरमा जारी रहेको ११ औं नगरसभामा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले आगामी वर्षको आयव्यय विवरण प्रस्तुत गरिरहनुभएका छ ।