• १ माघ २०८१, मङ्गलबार

गोरुसिङ्गे–सन्धिखर्क सडकको बेहाल अवस्था : यात्रुलाई सास्ती

blog

गोरुसिङ्गे–सन्धिखर्क सडकको बेहाल अवस्था । तस्विर : गणेश खनाल

गणेश खनाल

अर्घाखाँची, असार १० गते । अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडक मर्मत हुन नसक्दा बेहाल अवस्था भएको छ । समयमै मर्मत हुन नसक्दा यात्रुलाई यात्रा गर्न सास्ती भएको स्थानीयको भनाइ छ । 

सडकमा भएका खाडल र माटोका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्लावासीको मुख्य सडक नै वर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा दुर्घटना बढेको स्थानीयको गुनासो छ । सडकमा परेका ठूला खाडलका कारण सवारीसाधन दुर्घटना भई मानवीय तथा भौतिक क्षति भइरहेको यात्रुहरुले गुनासो गर्नुभएको छ । 

सडक डिभिजन कार्यालयले गरेको कालोपत्रे सडक माटोले पुरिएर हिलाम्मे र धुलाम्मे भएपछि दुर्घटना बढेको हो । प्रत्येक वर्ष गरिएका योजना रकम पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।  अधिकांश सडकको भाग अर्घाखाँची जिल्लामा पर्ने तर कार्यालय कपिलवस्तुमा भएपछि काममा समस्या भएको सो कार्यालयको भनाइ छ । 

सडकको अवस्थाले आफूलाई चिन्तित बनाएको लुम्विनी प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरेले बताउनुभयो । मर्मतका लागि आफ्नो तर्फबाट पहल गरिरहेको उहाँले बताउनुभयो । पश्चिम नेपाल वस व्यवासायी प्रालि.अर्घाखाँची शाखाका प्रमुख कमल भट्टराईले सडक बेहाल हुँदा गाडीमा समेत क्षति भइरहेको बताउनुभयो । सडकको कन्तबिजोकका कारण सवारीसाधन दुर्घटना बढेको उहाँको भनाइ छ ।  

सडक डिभिजन शिवपुरका प्रमुख विष्णुदास लामाका अनुसार सो क्षेत्रमा प्रत्येक वर्ष पाँच सात करोड बजेट खर्च हुनेगरेको छ । पछिल्लो २० वर्ष झन्डै १ अर्ब लगानी सडकमा हुँदा पनि सडक सुधार नभएको उहाँले बताउनुभयो । प्रमुख लामाले यस वर्ष ७ करोड रुपियाँ बजेटमा सडक सुधारको काम बताउनुभयो । अर्थ मन्त्रालयबाट थप बजेट माग गरिएको बताउँदै उहाँले सडक व्यवस्थित गर्न रकम अपुग रहेको बताउनुभयो ।