• २५ असार २०८१, मङ्गलबार

पाकेको फर्सीले बजार पाएपछि किसान दङ्ग

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार १० गते । कुनै समय गाई भैंसीलाई खोले, कुँडो बनाएर खुवाउने गरेको पाकेको फर्सी आजभोलि बजार पाएको छ । फागुनमा मकै छर्दा सँगै रोपिने फर्सी मल र गोडमेल पाउँदा प्रतिबिघा ४० हजार रुपियाँको उत्पादन हुने किसान बताउँछन् । 

शहरबाट गाउँमा गाडी लिएर व्यापारीहरू पाकेको फर्सी खोज्दै आउन थालेपछि किसान  खुसी भएका हुन् । मोरङको कानेपोखरी –६ बरगाछीका किसान भुदेवसिंह तामाङले यो वर्ष १७ हजार ५ सय रुपियाँको फर्सी बिक्री गरेको बताउनुभयो । गतवर्ष १० हजारको बिक्री गर्नुभएका तामाङले गत वर्षभन्दा उत्पादन पनि बढेको र मूल्य राम्रो पाएको बताउनुभयो । 

“पोहोर ६ कट्ठा मकैबारीमा फर्सी लगाएको थिएँ । यो वर्ष १० कट्ठामा रोपें” उहाँले भन्नुभयो । भुदेवसिंह मात्र होइन, कानेपोखरी ६ र ७ का अधिकांश किसान मकैबारीमा फर्सी रोपेर राम्रो फलाउन थालेपछि आम्दानी राम्रो भएको बताएका छन् । 

अर्का किसान भीमबहादुर तामाङले भन्नुभयो, “पहिले पहिले सुँगुर र गाई भैंसीले खोले खान्थे । अहिले राम्रो बिक्री हुनथाल्यो ।” यो वर्ष १० हजार रुपियाँको फर्सी बिक्री गरेको उहाँले बताउनुभयो । अर्का किसान खड्गप्रसाद फुयालले पहिलो पटक यो वर्ष ४ हजार ५ सयको फर्सी बिक्री गरेको बताउनुभयो ।  

रत्नबहादुर, भीमबहादुर र खड्ग फर्सी बिक्री गर्ने प्रतिनिधि किसान हुनुहुन्छ । उहाँजस्ता थुप्रै किसान फर्सी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको स्थानीयको भनाइ छ । इटहरी, विराटनगर र बिर्तामोड लगायतका ठूला बजारबाट व्यापारीहरू गाडी लिएर फर्सी सङ्कलनका लागि गाउँ आउने गरेका छन् । 

फर्सी खरिदकर्ता सन्तोष सहनीले भन्नुभयो। “हामी खाद्यान्न सप्लायर्सलाई दिन्छौं । सप्लायर्सले औद्योगिक क्षेत्र, प्रहरी, सेनाको व्यारेकमा दिनेगरेको सहनीको भनाइ छ । सहनी लगायतका चारजना व्यापारीले यो वर्ष मात्र कानेपोखरी क्षेत्रका किसानसँग १० लाख रुपियाँको फर्सी खरिद गरिसकेका छन् । धेरैजसो तरकारी प्रयोजनका लागि नै फर्सी प्रयोग हुनेगरेको छ ।