• १३ साउन २०८१, आइतबार

सेनाद्वारा निर्मित किरियापुत्री भवन नगर सरकारलाई हस्तान्तरण

blog

वासुदेव शर्मा
जाजरकोट, असार १० गते ।
जाजरकोटमा नेपाली सेनाद्वारा निर्माण गरिएको किरियापुत्री भवन नगर सरकारलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सो भवन हस्तान्तरण गर्नुभएको हो ।

पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतको सहयोग र चन्दननाथ गण मालिका ब्यारेक जाजरकोटका सकल दर्जाको सिप मेहेनतबाट किरियापुत्री भवन निर्माण गरिएको हो ।

नागरिक र सेनाको सम्बन्धलाई फराकिलो बनाउन स्थानिय सरकारको समन्वयमा सेनाले भेरी नगरपालिका ४ शान्तिचौतारामा किरियापुत्री भवन र भेरी नदीको किनारमा शव दाह गृह निर्माण गरेको छ ।

हिन्दु परम्पराअनुसार नागरिको मृत्युपछि दश गात्रादी कर्म गर्न नागरिकलाई सहज होस् भन्ने उद्देश्यले क्रियापुत्री भवन निर्माण गरेको चन्दननाथ गणका गणपति गोतामेले जानकारी दिनुभयो ।  

सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतबाट प्राप्त बजेटले चन्दननाथ गण मालिका व्यारेकले विगतदेखि सामाजिक कार्य गर्दै आएको छ ।


मानिसको मृत्युपछि खुल्ला आकाशमुनि दाहसंस्कार गर्नुपर्ने अवस्था र दशगात्रादी कर्म खुला चौरमा गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले सरोकारवालाहरुसँगको समन्वय तथा  सहकार्यमा भवन निर्माण गरेको चन्दननाथ गणका गणपति गोतामेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नेपाली सेनाले गर्दै आएको विकासको मोडल अनुसार स्थानीय सरकारबाट प्रवाह हुने योजनाका कार्यक्रमहरु प्रभावकारी बनाउनुपर्ने जानकारी दिनुभयो ।

साथै उहाँले नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने काम गरेकोमा नेपाली सेना चन्दननाथ गण मालिका ब्यारेकलाई धन्यवाद दिनुभयो ।

विकासको मोडल नेपाली सेनासँग भएकाले सहकार्य समन्वयका लागि नगर सरकारलाई प्रमुख जिल्ला अधिकारी शाहीले आग्रह गर्नुभयो ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नेपाली सेनाले विगतदेखि विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएकोमा चन्दननाथ गण मालिका ब्यारेक परिवारलाई धन्यवाद दिनुभयो ।