• १२ असोज २०८१, शनिबार

प्रेम कथामा आधारित नाटक ‘सेमुना’

blog

सुकृत नेपाल

काठमाडौँ, असार १० गते । पूर्वी नेपालको विभिन्न भू–भागमा फैलिएका किराँती पछिल्लो समय आफ्नो मौलिक संस्कार र संस्कृतिबाट टाढिँदै गएको देखिन्छ । राज्यको गलत अम्यास र आधुनिकताको मोह संस्कृति, इतिहास र सभ्यताप्रति चिन्तन गर्ने फुर्सद अहिले कसलाई छ र ?  यसैबीच अहिले पहिचानको विषयमा ठूलो आवाज उठिरहेको समय यी संस्कृतिले फेरि पूर्णता पाउने  या बिर्सिएका कुराले फेरि ब्युँझिने काम गर्छ कि भन्ने सबैमा आशा जागेको छ ।

तत्कालीन समयमा पूर्वी पहाडी जिल्लामा खासै सडक विस्तार भएका थिएनन् । विशेषगरी माझकिराँत, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ क्षेत्रका किराँती साहुको भारी बोकेर उनीहरू जीवन चलाइरहेका थिए । सप्तकोसी नदीको किनारामाथि भीरको गोरेटो बाटोमा उनीहरूको यात्रा निकै जोखिमपूर्ण थियो । त्यही भीरको बाटो छलेर केही वर्ष बाँचेका र भारीसँगै अरुण नदीमा जिन्दगी बिताएका गाउँलेको कथा हो ‘सेमुना’ । 

साकेला नाच्दै अरुण नदी किनारमा सँगसँगै यात्रा गर्ने जेठा र कान्छीबीचको प्रेमकथा हो ‘सेमुना’ । जेठा र कान्छी एक–अर्कालाई प्रेम त गर्छन् तर उनीहरूले आफ्नो प्रेम एक–अर्कामा व्यक्त गर्न सक्दैनन् । यात्राको क्रममा अरुण नदीमा जेठाको खसेर मृत्यु हुन्छ र जेठाबिना कान्छी एक्लै हुन्छिन् । त्यसपछि  कान्छी जेठाको चिहानलाई कुरेर आजीवन बस्छिन् । यी दुईबीचको प्रेमकथासँगै नाटकले किराँती समुदायको संस्कृतिलाई पनि दर्शकमाझ उजागार गर्न खोजेको छ । किराँतीहरू प्रकृतिमाथि आस्था राख्ने गर्छन्, भूमि पूजा गर्ने उनीहरूको संस्कारदेखि मृत्यु संस्कारसम्मलाई नाटकमा देखाउन खोजिएको छ । 

हरेक उँभौली र उँधौलीमा पितृ तथा प्रकृतिको पूजा गर्दै नाचिने साकेला/सान्केवा किराँतीहरूको जीवन दर्शन हो । तिनै अवसरमा पितृ तथा देवलाई समेत चाहिने रक्सीको प्रयोग हाल राज्यका कानुनले गर्दा कसरी गैरकानुनी भएको छ भन्ने कुरालाई पनि नाटकले उठान गरेको छ । ‘सेमुना’ किराँत, भोजपुरको हतुवालगायत खोटाङको बोपुङ क्षेत्रतिर नै नाचिने साकेन्वा÷साकेला नाचको नाम हो । 

कथाकार दिलीप बान्तवाको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन नीता राईले गरेकी हुन् । सौजन लिम्बू, राजेन्द्र कट्टेल, सुमन कोइराला, प्रकाश थापा, चन्द्र नेपाली, प्रकाश थापा, एलिजा तुम्बापो, प्रतिज्ञा भण्डारी, आशिष न्यौपाने, शङ्कर पोखरेल, रोहित श्रेष्ठ, दिवश सिवाकोटी, सञ्जय तिमिसिल्ना, उज्ज्वलराज ढकाल, सब्बु गुरुङ, रामचन्द्र राई, अरुण पुनमगर, निशान खत्री, यसकुमार राई, टिमोथी जोन लामा, कवि राई, विश्वास मानन्धर, अभिषेक खड्का, सुब्रत सिलवाल, पूजा तिवारीको नाटकमा अभिनय रहेको छ ।