• १३ साउन २०८१, आइतबार

सहराविहीन बालबालिकाको बिचल्ली

blog

सहाराको खोजीमा रहेका जगनाथ गाउँपालिका ३ हलिया परिवारका बालवालिका । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, असार १० गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा, स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका बालबालिका सहाराको खोजीमा छन् ।

अर्कोको घरमा काम गरी पेटको गुजारा गर्दै आएका ती हलिया परिवारका छोराछोरी विद्यालय जाने त परैको कुरा साँझबिहान छाक टार्न समस्या भएपछि उनीहरु अहिले विभिन्न निकायमा सहाराको खोजी गर्ने गरेका छन् । 

जगनाथ गाउँपालिका– ३ की किणी विकले पुस्तौदेखि अहिलेसम्म आफू अर्कैको घरमा हलिया बसेर छोराछोरीको पेट पाल्दै आएकी थिइन्  । अहिले केही वर्ष यता गाउँमा हलिया मुक्तिको नारा लगाउन सुरु भयो त्यो डरले साहुले घरबाट निकालेपछि छोराछोरीलाई पालनपोषण गर्न समस्या भएको उहाँले बताउनुभयो ।

बस्ने घर छैन, ती हलिया परिवारका बालबालिकाहरुको अवस्था निकै दयनीय छ । गाउँमा अन्य परिवारका बालबालिकाहरुले विद्यालयमा पढ्दै गरेका भए पनि हलिया परिवारका बालवालिकाको पढ्नबाट बञ्चित हुँदै आएको  छ । यी हलियाका बालबालिका विद्यालय जाने इच्छा भए पनि आर्थिक स्थिति निकै दयनीय भएका कारण उनीहरुकाे पढाइ वञ्चित हुँदै आएको हो ।

कतिपय हलियाका बालबालिका एक दुइ कक्षाबाटै पढाइ छोडेर भारतमा जान थालेका छन् । जगनाथ गाउँपालिका ३ का हलिया पवित्रा विकका छोरा रमेश विकले आफ्नो पढ्ने मन छ तर छाक टार्न कामको खोजीमा भारत जान बाध्य भएको बताउनुभयो ।

हलिया परिवारका बालवालिकाहरुका लागि गाउँमा विद्यालयको व्यवस्था हुनुपर्ने हलियाको परिचयपत्रमा उल्लेख गरिएको छ । तर अहिले गाउँमा विद्यालय नहुँदा हलियाका हजारौं बालबालिका पढाइबाट वञ्चित हुँदै आएको विनीता विकले बताउनुभयो ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दा बढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । यो समस्या त रमेश विकको मात्र होइन बाजुराका सबै हलिया घरपरिवारका झण्डै दुई हजारभन्दा बढी बालबालिकाको पीडा पनि उस्तै छ ।

सरकारी तथा गैरसरकारी संस्थाले हलिया मुक्तीको नारा त ल्यायो तर अहिले सम्म केही सुविधा दिएन । हामी पुस्तौ देखि अहिलेसम्म साहुको घरमा बसेर त पेट पाल्दै आएका थियौं उहाँले भन्नुभयो । संस्थाले लगाएको त्यो नाराको डरले हामीलाई साहुले घरबाट निकालिदियो । अहिले हामी बिचल्ली भयौं हलिया परिवारको दुखेसाे छ ।

स्वामिकार्तिक जगनाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा बस्दै आएका हजारौं हलिया परिवारका सयौभन्दा बढी आमाबुवा गुमाएका बालबालिका छन् । ती आमा बुवा गुमाएका बालवालिकाहरुको पालन पोषण शिक्षा स्वास्थ्यमा सहयोग गरिदिनका लागि विभिन्न निकायमा पहल गर्दै आएको शहीद प्रतिष्ठान बाजुराका अध्यक्ष विनीता विकले बताउनुभयो ।

Author

शेरबहादुर सार्की