• १३ साउन २०८१, आइतबार

कर्मचारीका लागि प्रतिभा डबली

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली स्थापना गरी निजामती कर्मचारीको क्षमता र प्रतिभालाई सार्वजनिक सेवा प्रवाहमा उपयोग गर्ने भएको छ ।निजामती कर्मचारीसँग भएको क्षमतालाई नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा आफ्नो प्रतिभा उजागर गर्दै उत्तम नतिजा हासिल गर्ने उद्देश्यले प्रतिभा डबलीको स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले कर्मचारीका प्रतिभा वा सोचले सार्वजनिक महत्व राख्न सक्ने भएकाले कर्मचारीको प्रतिभा डबली स्थापना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार अहिले पनि मालपोत कार्यालय, राहदानी विभाग, राष्ट्रिय परिचयपत्रको कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक व्यवस्थापन चुनौती, विकास निर्माणमा ढिलासुस्ती, सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको गुनासो लगायतका निजामती कर्मचारीबाट प्रदान गरिने सेवामा समस्या देखिएका छन् । ती निकायमा देखिएका समस्याका बारेमा कर्मचारीबाटै विभिन्न सोच सङ्कलन गरी समाधानका उपायसमेत खोजी गर्ने गरी प्रतिभा डबली आयोजना गरिनेछ । 

प्रतिभा डबलीमा सहभागी हुनका लागि मन्त्रालयले सबै सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयमा परिपत्र गरिसकेको छ । असार १३ गतेभित्र मन्त्रालयले तोकिएको ढाँचामा फाराम भरी आफ्नो प्रतिभा देखाउन मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक सेवाको सम्बन्धमा उत्कृष्ट प्रस्तुति गर्ने प्रथमः द्वितीय र तृतीय प्रतिभालाई उचित सम्मान तथा प्रोत्साहन गरिनेछ ।