• १३ साउन २०८१, आइतबार

रङ्गेली–विराटनगर सडक

चिसाङखोलाको कटानका कारण जोखिममा

blog

उर्लाबारी, असार १० गते । चिसाङखोलाको बाढीले विराटनगर–रङ्गेली हुलाकी सडकको रङ्गेली–८, संसारीमाई मन्दिर उत्तर सडक किनारसम्म कटान गरेर भत्काउन थालेपछि नगरपालिकाले बाँसको स्पर लगाउन थालेको छ ।गत कात्तिक ३ गते राति चिसाङखोलामा आएको बाढीले हुलाकी सडकको पुल पूर्व र पश्चिमतर्फ कटान गरेको थियो । खोलाको बहाव कहिले पूर्व र कहिले पश्चिमतर्फ मोडिएपछि पुलको दुबैतर्फ बाढीले क्षति पु-याएको हो । 

“कात्तिकमा कालोपत्रे सडकबाट पाँच फिट उत्तर खोलो थियो । अहिले कालोपत्रे छुनै लाग्यो, त्यसैले आपतकालीन तटबन्ध निर्माण गरेका हौँ,” रङ्गेली नगरपालिका प्रमुख दिलीपकुमार बगडियाले भन्नुभयो, “हुलाकी सडक आयोजनाको काम हो तर बजेट अभाव छ भन्ने सूचना आएपछि हामीले नै काम थालेका हौँ,” नगरप्रमुख बगडियाले चिसाङलाई च्यानलाइज र अस्थायी तटबन्ध गरी सडक बचाउने काम धमाधम भइरहेको उल्लेख गर्नुभयो । 

रङ्गेली नगरपालिकाका इन्जिनियर श्यामसुन्दर सिंहका अनुसार पुलको दुबैतर्फ एक एक सय मिटर बाँसको बाँध बाँध्ने र खोलालाई पुलमुनिबाट बगाउन नगरले आपतकालीन कोषबाट १३ लाख रुपियाँ खर्च गर्नेभएको छ । इन्जिनियर सिंहले बाँसको स्परका लागि छ लाख र खोलालाई च्यानलाइज गर्न तीन लाख रुपियाँ खर्च हुने बताउनुभयो । पुलदेखि उत्तर दुई सय मिटरदेखि दक्षिण दुई सय मिटरसम्म खोलालाई सोझ्याइएको उहाँको भनाइ छ ।