• १४ वैशाख २०८१, शुक्रबार

नेपालद्वारा दुःख व्यक्त

blog

काठमाडौँ (गोरखापत्र), असार १० गते ।  नेपाल सरकारले अफगानिस्तानमा शक्तिशाली भूकम्पले एक हजार जनाको ज्यान लिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गरेको छ ।

साथै भूकम्पमा ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना मन्त्रालयले गरेको छ । नेपाल सरकार र नेपाली जनता अफगानिस्तानको यस कठिन घडीमा सदैव साथ रहने ऐक्यबद्धता मन्त्रालयले प्रकट गरेको छ । 

मङ्गलबार मध्यरातमा अफगानिस्तानमा ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा एक हजार जनाको ज्यान जानुका साथै एक हजार पाँच सयभन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यहरूले जनाएका छन् ।