• १३ वैशाख २०८१, बिहिबार

मोबाइल आयातमा लाग्यो ‘ब्रेक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ९ गते । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । 

सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछि त्यसको असर देखिन थालेको हो । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो ।


सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । सरकारले वैशाखमा उक्त निर्णय गर्नुपूर्व चैतमा मात्रै तीन अर्ब ९८ करोड रुपियाँको मोबाइल आयात भएको थियो । नेपालमा सबैभन्दा धेरै मोबाइल चीनबाट आयात हुन्छ । जेठसम्म चीनबाट २२ अर्ब ७७ करोड रुपियाँको मोबाइल आयात भएको छ ।

त्यसपछि भारतबाट १२ अर्ब ८८ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । यसबाहेक नेपालले भियतनाम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बङ्गलादेश, जापान, अस्टेलिया, कतार, हङकङलगायतका मुलुकबाट मोबाइल आयात गर्छ । तथ्याङ्कअनुसार जेठसम्म ५५ लाख ८६ हजार ५७८ थान मोबाइल आयात भएको छ ।