• १५ वैशाख २०८१, शनिबार

न्यायाधीश–वकिल अडियो प्रकरण

न्याय परिषदद्वारा छानबिन समिति गठन

blog

काठमाडौँ, असार ९ गते  । विचाराधीन मुद्दा मिलाउने भन्दै न्यायाधीश र कानुन व्यवसायीबीचको अडियो संवाद बाहिरिएपछि न्याय परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको छ । परिषद्को बुधबार सम्पन्न बैठकले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार समितिमा उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र महेश पुडासैनी सदस्य हुनुहुन्छ । समितिलाई समय भने तोकिएको छैन । विवादमा तानिनुभएका कानुन व्यवसायी रुद्र पोखरेलमाथि समेत बार काउन्सिलले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

काठमाडौँ  जिल्ला  अदालतमा विचाराधीन संविधान सभा सदस्य इच्छाराज तामाङको ठगी मुद्दा मिलाउन भन्दै न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको अडियो संवाद बाहिरिएपछि छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको हो । थुनछेक आदेशका क्रममा १० करोड रुपियाँ धरौटी माग्ने र त्यसका लागि दुई करोड रुपियाँ घुस लेनदेनको संवाद बाहिरिएको हो । संवाद बाहिर आएपछि बुधबार परिषद्को आकस्मिक बैठक बोलाइएको थियो । पोखरेल नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष तथा नेकपा (एमाले)को कानुन विभागका सदस्यसमेत हुनुहुन्छ । 

काउन्सिलले कारबाही अघि बढायो

नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता कोइरालामाथि कारबाही प्रक्रिया अघि बढाउन अनुशासन समितिलाई निर्देशन दिएको छ । परिषद् बैठकले छानबिन गरी आवश्यक कारबाहीका लागि समितिलाई निर्देशन दिएको सचिव मोना सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिषद्ले छानबिन र आवश्यक कारबाहीका लागि अनुशासन समितिलाई निर्देशन दिएको छ ।” अनुशासन समिति संयोजकमा महान्यायाधिवक्ता रहने व्यवस्था छ । समितिले अब अडियोबारे छानबिन गरी अधिवक्ता पोखरेलमाथि कारबाही प्रक्रिया अघि बढाउनेछ । 

छानबिन गर्न बारको माग 

नेपाल  बार  एसोसिएसनलगायतका सरोकारवाला संस्थाले अडियो प्रकरण छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । बार महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै अडियोको आधिकारिकता जाँच गरी दोषी पाइए कारबाही गर्न माग गरिएको छ । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनले पनि उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ । सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै अनुचित कार्य पुष्टि भए कारबाही गर्न माग गर्नुभएको छ । 

Author

नारायण काफ्ले