• ७ वैशाख २०८१, शुक्रबार

आजबाट बालबालिकाको खोप अभियान सुरु: निर्धक्कसाथ लगाउन चिकित्सकको सुझाव

blog

काठमाडौं, असार ९ गते । सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. संगीता मिश्राले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । मिश्राका अनुसार, प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् । 

त्यसैगरी, बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी सात जिल्ला रहेका छन् । गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला रहेका छन् । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला रहेका छन् । कर्णली प्रदेशका सुर्खेत रहेका छन् र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला रहेका छन् । 

 सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने मिश्राले बताउनुभयो । सरकारले बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रोको खोप अभियान सञ्चालन गर्न जनाएको छ ।  

बालबालिकालाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ ।

 खोप ९१ प्रतिशत सुरक्षित 

परिवारकल्याण महाशाखाका निर्देशक डा.विभेककुमार लालले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप अन्य कोभिड खोपजस्तै सुरक्षित भएको बताउनु भयो । 

बालबालिकाहरुलाई लगाइन कोरोनाविरुद्धको फाइजर बोयएनटेक खोप ९१ प्रतिशत सुरक्षित र प्रभावकारी भएकाले अध्ययनहरुले देखाएको निर्धक्क भएको खोप लगाउन डा. लालको आग्रह छ । 

महाशाखाका जनस्वास्थ्य विज्ञ सञ्जयकुमार महासेठले कोभिड १९ विरुद्धको खोपले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाई गम्भीर सङ्क्रमण हुनबाट बचाउने बताउनुहुन्छ ।  खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको हो ।  

मन्त्रालयका अनुसार खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि सूचीकृत गर्नुका साथै नेपालमा प्रयोग गर्न औषधि व्यवस्था विभागले अनुमती प्रदान गरिसकेको छ ।  

खोप कसले नलगाउने 

पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकाले, पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचारमा बस्नुभएका बिरामीलाई खोप  नलगाउन चिकित्सकको आग्रह छ । इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचार लिएको ९० दिनपछि  यो खोप लगाउन मिल्ने चिकित्सक बताउँछन् । कोभिड सङ्क्रमण भएको  ३० दिनसम्म खोप लगाउन मिल्दैन ।

खोप लगाएपछि हुनसक्ने असर

डा. विभेक कुमार लालका अनुसार, कोरोनाविरुद्धको खोप लगाएका १० जनामध्ये सरदर १ जनामा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने हुन्छ ।

यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १०० जनामध्ये एकजनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुन्छ । 

एक हजार जनाले खोप लगाउँदा एकजनामा कम मात्रामा शरीर चिलाउने, बिमिरा आउने, डाबर आउने, आलस्य महसुस हुने, सुई लगाएको ठाउँमा चिलाउने हुन सक्छ । कोभ्याकस सुविधाअन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा उपलब्ध गराएको हो । 

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार बालबालिकालाई लगाउने आवश्यक खोप आइसकेको र सबै जिल्लामा पठाइसकेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।