• ९ कात्तिक २०८२, आइतबार

चीनको ताक्लाकोटबाट फर्किदै लिमीका युवायुवती

blog

चीनको ताक्लाकोटबाट हल्जी गाउँ आइपुगेका स्थानीय । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, कात्तिक ९ गते ।
चीनको ताक्लाकोटबाट नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीका युवायुवती आफ्नो बस्तीमा फर्कन थालेका छन् । हिउँद लाग्न सुरु भएपछि रोजगारी र व्यापारका लागि चीनको ताक्लाकोट गएका युवायुवती यतिबेला गाउँ फर्किन थालेका हुन् ।

छ महिना ताक्लाकोटमा काम गर्नुभएका लिमीको हल्जी गाउँका स्थानीय कुनक्याप तामाङले यतिबेला गाउँमा फर्किएको बताउनुभयो । कमाई पनि गर्नु पर्ने र घर पनि हेर्नुपर्ने भएपछि गाउँमा फर्किएको बताउनुहुँदै उहाँले कमाइ राम्रो भएको सुनाउनुभयो ।

घरका लागि करिब एक वर्षसम्म पुग्ने आवश्यक खाद्य सामग्री, लत्ताकपडा र अन्य सामान लिएर आएको उहाँको भनाइ छ । उहाँसहित घरबाट तीन जना ताक्लाकोटमा काम गर्न जानुभएको थियो ।

त्यसैगरी, हल्जी गाउँकै लेण्ड्याप तामाङ पनि पाँच महिना ताक्लाकोटमा काम गरेर लिमी फर्किनुभएको छ । सधैँ ताक्लाकोट बसेर मात्र नहुने र गाउँमा रहेको घर पनि हेर्नुपर्ने बाध्यता लिमीका युवायुवतीलाई रहेको उहाँले बताउनुभयो ।

हुम्लावासीका लागि ताल्लाकोट रोजगारीको गन्तव्य रहेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । उहाँले हाल लिमीका अधिकांश युवयुवती फर्किसकेको बताउनुभयो । ताक्लाकोटमा छ महिना काम गरेर एक जनाले तीनदेखि चार लाख रुपियाँ कमाई गर्ने गरेको बताउदै उहाँले ताक्लाकोटमा लिमीका युवायुवतीले पहिलो प्राथमिकता पाउने गरेको बताउनुभयो ।

ताक्लाकोटमा लिमीका तीन वटै बस्तीहरु तील, हल्जी र जाङबाट जाने र हिउँदेयाम लाग्न सुरु भएपछि गाउँ फर्किने गर्छन् । सबैभन्दा बढी ताक्लाकोटमा काम गर्न जाने हल्जीबस्तीका युवायुवती रहेको र हाल दैनिक आठ दस जना फर्किने गरेका छन् ।

अन्य दुई गाउँबाट भने कमै कामका लागि ताक्लाकोट जाने गर्छन् । यो वर्ष लिमीबाट करिब ३५० जना युवायुवती व्यापार र कामका लगि ताक्लाकोट गएको र त्यसमा अधिकांश सडक अवरुद्ध नहुन्जेलसम्म फर्किसक्ने उहाँले बताउनुभयो ।