ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ९ गते । अपाङ्गता भएका व्यक्तिहरु अन्नपूर्ण आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित चार हजार एक सय ९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा विभिन्न ६ प्रकारका अपाङ्गता भएका पर्यटकहरु पुगेका हुन् ।
उनीहरु हुमखोलादेखि मौरिस हर्जोग पदमार्ग हुँदै करिब १८ घण्टाको पदयात्रापछि चार हजार ५० मिटरको उचाइ रहेको पञ्चकुण्ड ताल हुँदै आधार शिविर पुगेको पदयात्रामा सहभागी अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकले बताउनुभयो ।
पदयात्रामा शारीरिक अपाङ्ग भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रूपमा बन्दना राई सहभागी हुनुभएको थियो ।

अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्न पदयात्रा गरिएको सञ्जालका अध्यक्ष विकले बताउनुभयो । पदयात्राको उद्देश्य अनुसार सफलता हासिल भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरु सहजै तरिकाले आधार शिविर पुग्नुभयो । आधार शिविर स्थित पञ्चकुण्ड तालमा पुग्दा संसार जितेर आएको जस्तो भयो । कतिपय स्थानको पदमार्ग र बस्ने होटलहरु अपाङ्गमैत्री नभएको पाइयो । अपाङ्गता भएका व्यक्तिहरु पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौँ ।’’
अपाङ्गता भएका व्यक्तिहरु पनि सहजै तरिकाले आधार शिविर पुगेपछि मौरिस हर्जोग र आधार शिविरको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास गरिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो ।

नारच्याङको हुमखोलादेखि सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटर दूरीको पदयात्रा गर्दै चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र चारहजार एक सय ९० मिटर उचाईमा रहेको आधार शिविरसम्म पुगेर शनिबार बेलुका बेनी आइपुगेका छन् ।
पर्यटकहरूको सहजता र पहुँच सुनिश्चित गर्न अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा सफल भएको अपाङ्गता सञ्जालका सचिव विकले बताउनुभयो ।
पदयात्राले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा समावेशी पर्यटन प्रवर्धन र अपाङ्गता मैत्री पदमार्ग निर्माणका लागि सरोकारवालाहरूको ध्यानकर्षण भएको उहाँको भनाइ छ ।
नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाइमा यतिखेर आधार शिविर बनेको छ ।

पदमार्गमा झरना, मनमोहक हिमश्रृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।