• १९ साउन २०८२, सोमबार

कालीगण्डकीमा जोखिम मोलेर दाउरा सङ्कलन

blog

जोखिम मोलेरै दाउरा सङ्कलन गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ(स्याङ्जा), साउन १९ गते । उर्लदो भेलको प्रवाह नगरी स्थानीय कालीगण्डकी नदीमा दाउरा सङ्कलन गर्ने गर्छन् । गल्याङ नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा जलसतह बढेसँगै स्थानीय दाउरा सङ्कलनका लागि पुग्ने गरेका हुन् । 

राम्दीका स्थानीय ठूलो सङ्ख्यामा दाउराको जोहो गर्न आउने गरेको डोल बहादुर गाहाले जानकारी दिनुभयो । आफू पनि दाउरा सङ्कलनको लागि नदीको तिरमा आएको उहाँको भनाइ छ । बगरे आएका दाउराबाट राम्रो आम्दानी हुने गाहाले बताउनुभयो । 

पानीको बहाव बढेसँगै माथिबाट बगाएर ल्याएका दाउराहरु सङ्कलन गर्ने गरिएको स्थानीय मिन बहादुर हिताङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्कलन गरेका दाउरा राम्दी कै गुरुकुललाई दिन्छौैं, उसले व्यवस्थापन गर्छ ।” गुरुकुलले आफूहरुलाई दाउरा वापतको पैसा दिने गरेको उहाँको भनाइ छ । 

यसरी सङ्कलन गरिएका दाउराहरु हिन्दु धर्म अनुसार अन्तिम संस्कारका प्रयोग गरिन्छ । शव जलाउनका लागि कालीगण्डकीमा नदीमा सङ्कलन गरिएका दाउरा प्रयोग हुने गरेको रामनदीधाम गुरुकुलका प्राचार्य कृष्ण बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले सङ्कलन गरेका दाउरा गुरुकुललाई बिक्री गर्दछन्, हामीले उनीहरुलाई पैसा दिन्छौं र दाउराको व्यवस्थापन गर्छाैं ।”

बढेको कालीगण्डकी नदीबाट सङ्कलन गरेको दाउरा वापत स्थानीयलाई रु २४ लाख ३१ हजार दिइएको प्राचार्य बस्यालको भनाइ छ । उहाँका अनुसार तोकिएको मापदण्ड अनुसारको एक चट्टालाई रु दुई हजार पाँच सयमा खरिद गरिने र अन्तिम संस्कारका लागि रु तीन हजारमा उपलव्ध गराइँदै आएको छ । गुरुकुलले दाउराको व्यवस्थापन गरे वापत सबै खर्च कटाएर रु तीन लाख २९ हजार बचत गरेको प्राचार्य बस्यालको भनाइ छ ।

आइतबार कालीगण्डकी नदीमा यो वर्षकै उच्च जलसतह भएको बताइन्छ । यसको फाईदा उठाउँदै स्थानीयले दाउरा सङ्कलनलाई तिब्रता दिएका हुन् । 

सामुदायीक वनमा दाउरा सङ्कलन गर्न डिभिजन वन कार्यालयले रोक लगाएका कारण कालीगण्डकी नदीको भर पर्नु परेको स्थानीय युवराज बास्तोलाले जानकारी दिनुभयो । अस्तव्यस्त नदीको किनारा भएकाले जोखिम मोलेरै दाउरा सङ्कलन गर्नु पर्ने उहाँको भनाइ छ ।