राममणि दाहाल
मकवानपुर, साउन १८ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको शपथ लिनुभएका लामा ३७४ दिन मुख्यमन्त्रीमा बन्नुभयो।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले शक्ति केन्द्र र स्वार्थ समूहको इशारामा चल्न नसकेका कारण राजीनामा दिनुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले संविधानत आफूले राजीनामा दिनुपर्ने अवस्था नरहेको भन्दै आगामी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो तर पार्टीभित्रको बृहत्तर छलफल पश्चात् राजनीतिमा विधि, पद्धति, मूल्य मान्यता स्थापित गर्नु उचित ठानेको छु। उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले दलभित्रको पछिल्लो विकसित घटनाक्रमलाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्ने गरी मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एउटा इमानदार सिपाइको हैसियतले सभापतिको आग्रहलाई शिरोधार्य गर्दै आज नै मुख्यमन्त्री पदबाट राजीनामा दिएको छुँ।’
उहाँले आफ्नो नेतृत्वको सरकारलेबाट बागमती प्रदेशमा प्रणाली स्थापना गर्न र सुशासन कायम गर्न सफल भएको भन्दै विकास आयोजना कार्यान्वयनमा क्षमता अभिवृद्धि भएको तथ्य र तथ्याङ्कबाट पुष्टि भएको बताउनुभयो।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामामाथि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब परेको थियो।
मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग संसदीय दलको नेतामा पराजित हुनुभएको थियो। लामाले आफू संविधानको संविधानको धारा १६८(२) अनुसार बनेकोले संसदीय दलको नेतामा पराजित भए पनि सरकारबाट राजीनामा दिन नपर्ने बताउँदै आउनुभएको थियो। संविधानको धारा १६८(२) दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था रहेको छ। उता संसदीय दलका नेता बानियाँले संसदीय दलको नेताको हैसियत गुमाइसकेकोले मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभएको थियो।