विजयकुमार साह
ढल्केबर, साउन १९ गते । वर्षौँदेखि बन्द अवस्थामा रहेको धनुषा जिल्लाको सबैला नगरपालिका–९, भठियनबजारस्थित ‘सुशिला टाँकिज’ चलचित्र घर पुन: सञ्चालनमा आएको छ ।
१७ वर्षदेखि बन्द अवस्थामा रहेको चलचित्र घर आधुनिक प्रविधि र थप सुविधासहित सोमबारबाट पुनः सञ्चालनमा ल्याइएको हो ।
चलचित्रघरका सञ्चालक गुरुदेव यादवले अहिले समयअनुसारको प्रविधि र भौतिक पूर्वाधारसहित चिलचित्रघर सञ्चालनमा ल्याएको बताउनुभयो । नयाँ पुस्तालाई सिनेमा घरमा आएर चलचित्र हेर्ने संस्कार दिन हामीले सुशिला टाँकिजलाई पुनः चलाउने निर्णय गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार पुनः सञ्चालनको शुभारम्भमा मैथिली भाषाको कथानक चलचित्र ‘कल्कतियावाली’ प्रदर्शन गरिएको छ । उहाँकाअनुसार चलचित्रघरमा नयाँ प्रविधि जडान गरिएको छ । विशेष साउन्ड सिस्टम, आरामदायी सिटको व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, ‘ चलचित्रघर अब नियमित सञ्चालनमा रहने छ । नेपाली, हिन्दी तथा मैथिली भाषाका विभिन्न चलचित्र प्रदर्शन गरिने छ । विशेषगरी स्थानीय दर्शकलाई ध्यानमा राखेर प्रदर्शन तालिका तय गरिने छ ।
सञ्चालक यादवकाअनुसार कुनै समयमा चलचित्र हेर्ने दर्शकको भिड लाग्ने सुशिला टाँकिज देशको राजनीतिक अस्थिरता र डिजिटल माध्यमको बढ्दो प्रभावले गर्दा बन्द हुन पुगेको थियो ।
सुशिला टाँकिज पुनः सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह देखिएको छ । स्थानीय युवा नागेन्द्र महराले भन्नुभयो, ‘हामी सानो हुँदा यस टाँकिजमा चलचित्र हेर्न आउँथ्यौं । अहिले फेरि खुला भयो भन्ने खबरले निकै खुसी लागेको छ । अब परिवारसहित आफ्नै ठाउँमै फिल्म हेर्न पाइने भयो ।’