भवानीदत्त भट्ट
कञ्चनपुर, साउन १९ गते । कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उहाँका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उहाँका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।
पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताउनुभयो । शनिबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा घरायसी झगडाको उजुरीपछि प्रहरीले सम्झाई बुझाइ गरी घर फर्काएको थियो ।
सम्झनाका बुवा भट्टले छोरीमाथि पटक पटक मानसिक तनाव तथा शारिरीक यातना दिने गरेको बताउनुभयो । छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर उहाँले कारबाहीको माग गर्नुभयो । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।