• १९ साउन २०८२, सोमबार

शिवालय र धाममा दर्शनार्थीको भिड

blog

मध्यनेपाल –७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा सोमबार पूजा गर्न आएका भक्तजनहरु । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन १९ गते । साउन महिनाको तेस्रो सोमबार हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा लमजुङका विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरुमा भक्तजनहरुको भिड लागेको हो । 

मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा सोमबार बिहान हजारौं भक्तजनले पूजा आराधना गरेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । 

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ । महिलाले विशेषगरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदैआएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

सन्तानेश्वर महादेवका रुपमा विख्यात रहेको ईशानेश्वर महादेव मन्दिर पशुपतिनाथपछिको महत्वपूर्ण धार्मिकस्थल रहेको विश्वास गरिन्छ । सोही विश्वासका आधारमा साउनको सोमबारका दिन हजारौं भक्तजन पूजाआजाका लागि मन्दिर आउनेगरेको   ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो । 

यहाँ शिवरात्रीमा हरेक वर्ष हजारौं श्रद्धालु भक्तजनले पूजाआजा गर्दछन् । यसैगरी सदरमुकाम बेंसीशहरस्थित कर्पुरेश्वर महादेव मन्दिर, राइनास –८ तार्कुघाटमा रहेको धर्मनाथ धाम, सुन्दर बजारको बरेटार शिव मन्दिरमा विशेष पूजापाठ भएको छ । बरेटार शिव मन्दिर परिसरमा शिवपुराण बाेलबम महोत्सव आयोजना गरिएको छ ।

सो अवसरमा सवा लाख बत्ती प्रज्ज्वलन कार्यक्रम छ । साउन ९ गते देखि २१ गतेसम्म सञ्चालन हुने १३ दिवसीय धार्मिक महोत्सवमा हरेक दिन मण्डप पूजासहित हवन, रुद्री, चण्डीपाठ तथा पितृ उद्धारसम्बन्धी धार्मिक अनुष्ठानहरू विधिपूर्वक सम्पन्न गरिएका छन् ।