• १९ साउन २०८२, सोमबार

बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

blog

बाँकेको नरैनापुर ५ मटेहियामा डुबानमा परेको घर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १८ गते । आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर ५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् । 

बिहानैबाट भएको निरन्तरको वर्षाले गर्दा नरैनापुर ५ मटेहिया गाउँका ११ वटा घरहरु डुवानमा परेको मटेहियाका स्थानीय ज्ञान कनौजियाले बताउनु भयो । 

उहाँले पानीको निकास बन्द हुँदा सो स्थानमा रहेका ११ जनाको घर र गोठहरुमा पानी पसेर डुबान भएको बताउनु भयो । 

कनौजियाका अनुसार, मटेहिया ५ का स्थानीय भुजई यादव, भुसैली दर्जी, सलिम दर्जी र विनोद मौर्यलगायत ११ जनाका घरहरु डुबेर बस्न नमिल्ने भएका छन् । 

घर डुबानमा पर्दा खाद्यान्न तथा कपडा लत्ता भिजेर क्षति भएको भुजई यादवले बताउनुभयो । 

यसैबिच हाल बाँकेमा वर्षा भइरहेकाले डुबान र बाढीको सम्भावना रहेको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले सचेत रहन सम्पूर्ण पालिकावासीसँग अनुरोध गर्नुभएको छ ।  

उहाँले कत ैपनि डुबान र बाढी आएमा तत्काल खबर गर्न र अग्लो स्थानमा जान पनि आग्रह गर्नुभएको छ । 

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले यस वर्ष जिल्लाका १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरेको छ । डुबान र बाढीको जोखिम कम गर्न विभिन्न उपायहरु अवलम्बन गरिएको पनि समितिले जनाएको छ । 

यसैबिच  जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि वर्षा शुरु भइसकेकाले सचेत र तयारी अवस्थामा रहन जिल्लाका सबै आठवटै पालिकालाई अनुरोध गनुभएको छ ।